मेलबर्न — भिक्टोरियाको दक्षिण–पश्चिमी क्षेत्रमा आएको भीषण मेघगर्जनसहितको अविरल वर्षाका कारण ग्रेट ओसयन रोड वरपरका क्षेत्रमा अचानक बाढी आएको छ। बाढीले काराभान पार्क डुबानमा परेका छन् भने केही कार समेत बगाएको छ ।
बिहीबार दिउँसो तीव्र वर्षासहितको आँधीले Wye River, Kennett River, Cumberland River, Lorne र आसपासका बस्तीहरू प्रभावित भएपछि स्थानीय बासिन्दा र पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा ध्थभ च्ष्खभच क्षेत्रमा तीनवटा कार समुद्रतर्फ बगिरहेको देखिन्छ भने अन्य केही कार पुलमा अड्किएका वा बाढीमा डुबेका छन् ।
Lorne क्षेत्रमा Erskine नदी उर्लिएपछि काराभानहरू डुबानमा परेका छन्। त्यहाँ रहेको एक मात्र सुपरमार्केट अनिश्चितकालका लागि बन्द गरिएको छ। स्टेट इमर्जेन्सी सर्भिस (राज्य विपद सेवा) ले क्षतिको मूल्यांकन गरिरहेको जनाएको छ।
राज्य विपद सेवाका अनुसार हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि, बाढीले काराभान पार्क डुबाएपछि केही व्यक्तिलाई उद्धार गर्नुपरेको र केही उच्च स्थानतर्फ भाग्न बाध्य भएको बताइएको छ।
वर्षा मापक यन्त्रले बिहान ९ बजेदेखि सात घण्टामा १७० मिलिमिटरभन्दा बढी वर्षा मापन गरेको छ। सन् २००० देखि रेकर्ड राख्न थालेयता यो सबैभन्दा धेरै २४ घण्टे वर्षा हो।
बिहीबार दिउँसोतिर आँधीको मुख्य प्रभाव कम भए पनि केही समय वर्षा जारी रहने सम्भावना रहेको भन्दै मोटर चालकलाई बाढीग्रस्त सडक प्रयोग नगर्न आग्रह गरिएको छ।
Skenes Creek र Lorne बीचको ग्रेट ओसन रोड दुवैतर्फ बन्द गरिएको छ। करिब १,३२० घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
प्राधिकरणका अनुसार बाढीको पानीमा ढल मिसिएको हुनसक्ने भएकाले दूषित पानीबाट टाढा रहन आग्रह गरिएको छ। समुद्रमा ३ मिटर उचाइसम्मका छाल उठिरहेका कारण तटीय क्षेत्रमा जोखिम अझ बढेको छ।

प्रतिक्रिया