पूर्वप्रधानमन्त्री ओली आक्रोशित- ‘ठग र लुसिफर युवा भड्काउन लागे’

पूर्वप्रधानमन्त्री ओली आक्रोशित- ‘ठग र लुसिफर युवा भड्काउन लागे’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई भड्काउन खोजेको गम्भरि आरोप लगाएका छन् । उनले ठग भनेर रास्वपा अध्यक्ष रवि लामिछाने र लुसिफर भनेर काठमाडौंका मेयर बालेन्द्र साहलाई भनेका हुन् ।

४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए ।

युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ छ ।

‘नेपालका युवा अलिकति बाटो बिराउन खोजेका छन् । इतिहास तिम्रो आफ्नो आयुबाट नाप्न नखोज, इतिहास अलि लामो छ । देश पढ । देश बुझ । यो देशलाई के गर्न खोजिँदैछ भनेर बुझ्ने प्रयास गर,’ युवालाई सम्बोधन गर्दै उनले भने ।

अध्यक्ष ओलीले ठगहरू, लुसिफरहरू युवालाई प्रभावित पार्न प्रयासरत रहेको बताउँदै भने, ‘अहिले सबै प्रकारका ठगहरू, लुसिफरहरूले धाक नलगाए हुन्छ, तिनका सपना पूरा हुने छैनन् ।’

रास्वपा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति इंगित गर्दै उनले आफूसँग चुनाव लड्न भनेर तामझान गरिरहेको पनि जिकिर गरे ।

‘कोही–कोही केपी ओलीसँग चुनाव लड्न जान्छु भनेर तामझाम गरेका छन् । हामीले नचिन्ने नचिन्ने खालका नोट लिएर पुगेका छन्, निर्वाचन क्षेत्रहरूमा,’ उनले भने ।

आफू निर्वाचन लड्दै आएको झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा बालेन रहेको खबर सार्वजनिक भइरहेका बेला ओलीको यस्तो टिप्पणी आएको हो ।