काठमाडौँ । संस्थापन पक्षले भेला भनेर हेला गरेको भृकुटीमण्डपको विशेष महाधिवेशन र अनुशासनहीन भन्दै नेताहरुलाई कारवाही गर्न बोलाइएको केन्द्रीय समिति बैठकका कारण आजको दिन नेपाली काँग्रेसका लागि चुनौतीपूर्ण र महत्वपूर्ण बन्न पुगेको छ । दुई पक्षबीच भएका वार्ताहरु सहमतितर्फ अघि नबढेपछि नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ । रातभरका विभिन्न चरणका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ ।
विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापनले अन्तिम वार्ताको प्रयास गरिरहेकाले त्यसलाई पनि मध्यनजगर गर्दै कार्यक्रम अगाडि बढाइएको बताए । उनले भने, ‘हाम्रो निर्वाचनको तालिका यथावत् छ । उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ । हामी त्यसलाई पनि सम्मान गर्छौँ । यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ ।’
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बिहान ८ बजेका लागि बोलाइएको भएपनि बैठक महाधिवेशनको गतिविधिलाई हेरेर बस्ने नेताहरुले बताएका छन् ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेताहरू मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको थियो ।

प्रतिक्रिया