सेपार्टन नेशन्स कप फुटबल २०२६ अष्ट्रेलिया : आज ईराकसँग भिड्दै नेपाल

सेपार्टन नेशन्स कप फुटबल २०२६ अष्ट्रेलिया : आज ईराकसँग भिड्दै नेपाल


मेलबर्न, अष्ट्रेलिया ।

सेपार्टनमा जारी नेसन्स कपमा आज नेपाली फुटबल टोलीले ईराकी फुटबल टोलीसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरण अन्तर्गतको खेलमा राति ८ बजे ईराकसँग नेपाल आमने सामने हुन लागेको हो । भिक्टोरियाको कृषिकेन्द्र मानिने सेपार्टनमा अघिल्लो वर्षबाट नेपालले सहभागिता जनाउन सुरु गरेको थियो ।

यसअघिका खेलमा ईटालीसँग एक शून्यले जीत निकालेको नेपालले टर्कीसँग भने दुई दुई गोलको बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो । उक्त खेलमा रेफ्रीले न्याय गर्न नसकेको गुनासो पनि नेपालले गर्दै आएको छ । नेपालले अर्को खेल मेसेडोनियाविरुद्ध १७ जनवरीका दिन खेल्नेछ । २५ जनवरीका दिन प्रतियोगिताको फाईनल खेल आयोजना हुनेछ ।

अघिल्लो वर्ष सेपार्टन कपमा पहिलो पटक सहभागी भएको नेपालले फाईनलसम्मको यात्रा तय गरेको थियो । फाईनलमा अफगानिस्तानसँग पेनाल्टी सुटआउटमा नेपाल पराजित भएका थियो । यस वर्ष नेपाल रहेको समूहमा टर्की, ईराक, ईटाली मेसेडोनिया रहेका छन् । ईराकलाई जितेको अवस्थामा नेपालको अर्को चरणमा जाने सम्भावना बलियो रहनेछ ।