सोनाम ल्होछार २८६२ को तयारी, जनवरी २३ मा ब्रडमिडोज टाउन हलमा डम्फु साँझ

सोनाम ल्होछार २८६२ को तयारी, जनवरी २३ मा ब्रडमिडोज टाउन हलमा डम्फु साँझ


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष सोनाम ल्होछार २८६२ ९घोडा वर्ग० लाई स्वागत गर्न तयारी थालेका छन्। तामाङ सोसाइटी अफ भिक्टोरियाको आयोजनामा आगामी शुक्रबार, जनवरी २३ का दिन ब्रडमिडोज टाउन हलमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

संस्थाकी अध्यक्ष बबी लामाले कार्यक्रम सम्पूर्ण समुदायका लागि निःशुल्क रहेको जानकारी दिँदै, सबैलाई परिवारसहित उपस्थित भई एकताका साथ ल्होछार मनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार सोनाम ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको पहिचान, संस्कृति र एकताको प्रतीक हो।

कार्यक्रममा तामाङ समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने डाम्फुको तालमा आधारित नृत्य तथा गायन, साथै विभिन्न बहुसांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ। यस अवसरमा नेपाली परिकारहरू पनि खरिदका लागि उपलब्ध हुने आयोजकले जनाएको छ।

सांगीतिक प्रस्तुतिको पक्षलाई थप आकर्षक बनाउँदै, मेलबर्नस्थित गायक दिल तामाङ, रोजिना तितुङ लगायत अन्य अष्ट्रेलियन नेपाली कलाकारहरूले आफ्ना प्रतिभा प्रस्तुत गर्नेछन्। स्थानीय कलाकारहरूलाई मञ्च प्रदान गर्दै उनीहरूको सिर्जनशीलता र संस्कृति प्रवर्द्धन गर्नु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ।

तामाङ सोसाइटी अफ भिक्टोरियाले सोनाम ल्होछार २८६२ लाई सफल र स्मरणीय बनाउन सम्पूर्ण तामाङ समुदाय तथा बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा उपस्थित भई संयुक्त रूपमा नयाँ वर्षको स्वागत गर्न अनुरोध गरेको छ।