काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै कसैप्रति पनि नकारात्मक टिप्पणी नगर्ने र ससम्मान बिदाईको चाँजो मिलाउने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुको जोडबलमा नै विशेष महाधिवेशन सम्भव भएको भन्दै आफुहरु पनि सहभागी हुन अतिथिको रुपमा मात्रै आएको समेत भन्न भ्याए । उनले भाषण गरिरहँदा करिब दिनभर नै धैर्यतापूर्वक बसेर उनको विचार सुन्न कार्यकर्ताहरु बसेका थिए । उनले एमालेप्रति कटाक्ष गर्दै नेपाली काँग्रेस लास र दासहरुको पार्टी नभएको मात्र भनेनन् काँग्रेसमा सबैको हैसियत समान भएकोले यहाँ कोही बा छैनन् त्यसैले हामी प्रश्न सोध्छौं र प्रश्न सोध्नेले मात्रै समाज बदल्नसक्ने उद्घोष समेत गरे ।
भाषणका क्रममा उनले वीपी, गणेशमानसहित सबै अग्रज नेताहरुलाई सम्झे । उनले आफूसँग विश्वेश्वरप्रसाद कोइरालाको विचार र लौहपुरुष गणेशमान सिंहको साहस रहेको बताएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई बन्दसत्रमा आउने उनले आग्रह गरे। सोमबारसम्म नेतृत्वलाई कुर्ने उनको भनाइ थियो। ‘आउने या नआउने उनीहरूको मर्जी, निर्णय गर्ने तपाईंहरूको मर्जी,’ थापाले भने, ‘युद्ध जित्नका लागि लडाइँ पनि हार्नुपर्छ, हार्न तयार छौंँ। कहिले काँही ज्वालालाई जोगाउनका लागि आफू डड्नुपर्छ, डड्नका लागि तयार छौँ, नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनको लागि।’
आफूसँग कांग्रेसलाई बदल्ने विचार र साहस भएको उनको भनाइ थियो। ‘म बीपी छोरा होइन, गणेशमानको छोरा होइन। मेरो शरीरमा बीपी र गणेशमानको रगत छैन। तर, बीपीको विचार छ, गणेशमानको साहस छ।’

प्रतिक्रिया