काँग्रेस विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधि सहभागी, अझै बढ्ने

काँग्रेस विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधि सहभागी, अझै बढ्ने



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको जनाइएको छ ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्री गगन थापाले सम्बोधन गरिसकेपछि त्यस बेलासम्म उपस्थित भइसकेका प्रतिनिधिहरुको प्रतिशत ६२ भन्दा बढी भएको बताइएको हो ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसको आह्वान गरेका थिए । सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै विशेष महाधिवेशनको आह्वान गरे ।

नाम दर्ताको शुल्क एक हजार तोकिएको छ । अहिले पनि कार्यक्रम स्थल पुगेका प्रतिनिधिहरुले नाम दर्ता गरेर कार्ड लिने क्रम जारी छ । यसैकारण भोलि बन्दसत्र अगाडिसम्म यो संख्या बढ्ने अनुमान छ ।

महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए । कांग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् । उता पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा आकस्मिक बैठक बोलाएका छन् । उक्त बैठकमा देउवा पक्षीय केन्द्रीय नेताहरुले अबको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आफ्नो योजना बनाउँदैछन् । रणनीतिक मानिएको उक्त बैठकले बहुमत महासमिति सदस्य सहभागी रहेको विशेष अधिवेशनले नेतृत्व र नीति परिवर्तन गर्नसक्ने भएका कारण त्यसमा सहभागी भएर माहोललाई आफ्नो पक्षमा ल्याउनुपर्ने अनुसार योजना बनाउने अनुमान छ ।