विशेष महाधिवेशनको हलमा पुग्लान् त सभापति शेरबहादुर देउवा ?

विशेष महाधिवेशनको हलमा पुग्लान् त सभापति शेरबहादुर देउवा ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा पुस २७ र २८ का लागि आह्वान गरिएको विशेष महाधिवेशनको तयारी अर्को चरणमा प्रवेश गरेको छ । महाधिवेशनका सम्बन्धमा केन्द्रीय समितिमा अल्पमतमा रहेका महामन्त्रीहरुले महासमिति सदस्यहरुलाई नै उपस्थित गराएर आफ्नो बहुमत सिद्ध गर्ने प्रयास गरिरहेका छन् । यसलाई तुहाउनको लागि समानान्तर युवा र जिल्ला सभापतिहरुको भेला आयोजना गरिएको छ ।

विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै बदल्नुपर्ने महामन्त्री गगन थापाले जानकारी दिए ।
‘विशेष महाधिवेशनको हलले पनि नीति र नेतृत्व दुवै बदल्नुपर्ने राय रहन्छ कि रहँदैन, यही प्रस्ताव गर्छ कि गर्दैन, मैले भन्ने कुरा होइन। विशेष महाधिवेशनले आफ्नो कार्यविधि आफै बनाउने भएकाले त्यो कस्तो हुन्छ भन्ने चाहिँ विशेष महाधिवेशनकै अधिकार क्षेत्रमा पर्ने उनको भनाई छ ।

‘महाधिवेशनमा नीति र नेता परिवर्तन हुनुपर्छ भनिरहेका छौँ,’ उनी भन्छन्, ‘त्यो कहाँ जाला कसरी जाला, त्यो दोस्रो कुरा हो। तर, हामी निष्काम कर्म गरिरहेका छौँ।’

‘खासमा महामन्त्रीहरु प्रत्यक्ष रुपमा नदेखिए पनि महाधिवेशन पक्षधरहरुले अहिलेको नेतृत्व सभापतिले नै विशेष महाधिवेशनको उद्घाटन गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन् । यस्तो भएको अवस्थामा नेतृत्व परिवर्तनका विषयमा कुनै किचलो रहने थिएन भन्ने उनीहरुको बुझाई छ । तर, सात भाई भनिएका अहिलेका पदाधिकारीहरुले लोकप्रिय मतका साथ गगन थापा सभापति हुने हो कि भन्ने आशंका व्यक्त गरेको देखिन्छ । तर, गगन थापाले आफुलाई सभापति पनि नचाहिएको बताइसकेका छन । उनले पार्टी फुट्ने स्थितिमा सबै विष पिउन पनि आफु तयार रहेको बताएर कुनैपनि मोडमा आफु फिर्ता हुने बाटो पनि खुल्ला राखेका छन् ।

‘विशेष महाधिवेशनलाई नेतृत्वले स्वीकार गर्दा सहमति हुन्छ। समन्वय नहुँदा निम्तिने द्वन्द्वले पार्टीमा वैमनस्य र विभाजनमा लैजान्छ। अल्पमत हुँदा संकल्प पास हुन्छ, बहुमत हुँदा निर्णय हुन्छ। यस्तो धारणा महाधिवेशन पक्षधरहरुले राखिरहेका छन् ।

विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत प्रतिनिधि उभिँदा निर्णयमा पुग्नुको विकल्प नहुने पोखरेलको बुझाइ छ।
‘पार्टी सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको हलमा आउनुभयो भने यो संकल्प सम्मेलनमा बदलिन्छ। एकताबद्ध भएर पार्टी आसन्न निर्वाचनमा जान्छ। उहाँलाई मत हालेका महाधिवेशन प्रतिनिधिको कुरा सुन्न तयार हुन भएन भने हलले आफ्नो निर्णय लिन्छ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेमा यो समूहले आम चुनाव सार्न जोडबल लगाउने कतिपयको विश्लेषण छ।
बिहीबार ठमेलको एउटा होटलमा भएको पत्रकार भेटघाटबाट महामन्त्री थापा बाहिरिँदा केही महाधिवेशन प्रतिनिधि पुस २८ मा निर्वाचन कार्यालय घेराउ गर्ने चर्चा गरिरहेका थिए। तर, फागुन २१ का लागि माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको कार्यतालिकाको चापले विशेष महाधिवेशनबाट नेतृत्व चयन गरेर जाँदा गम्भीर जटिलता निम्तिने अवस्था छ।

महामन्त्री शर्मा विशेष महाधिवेशनबाट नेतृत्व चयनको पक्षमा छैनन्। विशेष महाधिवेशनलाई संकल्प सम्मेलनमा टुंग्याउनुपर्ने शर्माको जोडबल हुने उनी निकट स्रोत बताउँछ।

शर्माले शुक्रबार बिहान पनि ‘विशेष महाधिवेशन हुन्छ र पार्टी विभाजन हुन्न’ भन्नेमा दुवै महामन्त्री दृढ रहेको बताएका थिए।

‘संस्थापनले पुस १८ गते नै विशेष महाधिवेशनको औचित्य समाप्त भएको निर्णय गर्दै महाधिवेशन प्रतिनिधिलाई सहभागी नहुन निर्देशन दिएको थियो। त्यसपछि विशेष महाधिवेशनमा सहभागी नहुन परिपत्र गरेको कांग्रेसले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिबाट पनि सोही कुरा दोहोर्‍याएर निर्णय लिएको छ।

विशेष महाधिवेशनमा मुख्य चार एजेन्डामाथि छलफल हुने छ। नेता पोखरेलका अनुसार नीति र नेतृत्वबारे, समसामयिक राजनीतिको समीक्षा, पार्टीमा संरचनात्मक सुधार र अन्तर्राष्ट्रिय सम्बन्ध मुख्य एजेन्डा छन्।