राजीनामा मागेका निकोलस भुसाललाई जुस खुवाएर अनसन तडाइन् प्रधानमन्त्रीले

राजीनामा मागेका निकोलस भुसाललाई जुस खुवाएर अनसन तडाइन् प्रधानमन्त्रीले



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा सहितका माग राखेर अनसनरत डा. निकोलस भुसाल, हरिश विष्ट र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सहमति भएसँगै भुसाल र विष्टको अनसन ११ औं दिनमा तोडिएको हो । यद्यपि यसअघि नै उनको स्वास्थ्य कमजोर भएको भन्दै वीर अस्पताल भर्ना गरिसकिएको थियो ।

सहमतिपत्रमा भुसाल र विष्टका साथै तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।
सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएकी थिइन् ।

सहमतिअनुसार जेन्जी आन्दोलनका क्रममा भएका घटनाबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले अन्तिम चरणमा बयान संकलन गरिरहेको जनाइएको छ । आयोगको प्रतिवेदन प्राप्त भएको १५ दिनभित्र दोषी ठहर भएकामाथि कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सरकारको प्रतिबद्धता छ ।

जेनजी आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेका, अनुसन्धान वा अभियोजनमा परेका व्यक्तिहरूको हकमा तत्काल छानबिन गरिनेछ । गम्भीर अपराधमा संलग्न नरहेको देखिएमा एक महिनाभित्र मुद्दा फिर्ता लिई हिरासतमुक्त गर्ने सहमति भएको छ ।

सहमतिको अर्को महत्वपूर्ण बुँदामा भ्रष्टाचार निवारण र संस्थागत सुधार समेटिएको छ ।