पोखराको लिची बगान जग्गा प्रकरणमा पूर्वमन्त्री गुप्तालाई जेल चलान

पोखराको लिची बगान जग्गा प्रकरणमा पूर्वमन्त्री गुप्तालाई जेल चलान



काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्तालाई कारागार चलान हुने भएका छन् । पोखराको लिची बगानको जग्गा प्रकरणमा उनलाई विशेष अदालत काठमाडौंले बुधबार थुनामा राख्ने आदेश गरेको हो ।

न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा पठाउने आदेश गरेसँगै उनी कारागार चलान भएका हुन् । उनले ७८ लाख घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमा गुप्ता बुधबार थुनछेक बहसका लागि अदालतमा उपस्थित भएका थिए । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले अडियोकाण्डमा उल्लेख भएको पैसा भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकारेका थिए । यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भनेका थिए ।

तर, विषय धेरै विवादित बनेपछि ओलीले गुप्तालाई राजीनामा दिन भनेका थिए । सोही अनुसार उनले राजीनामा दिएका थिए ।

त्यसको केही समयपछि आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।

कास्कीको पोखरामा रहेको लिची बगैँचाको जग्गा प्रकरणमा उनीसँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध आयोगले जनही ७८ लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो ।

तत्कालीन मन्त्री गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रूपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रूपैयाँ घुस डिल गरेको अडियोसमेत रहेको अख्तियारको दाबी थियो ।

पोखरा महानगरपालिका– १६ बाटुलेचौरमा रहेको झण्डै १३५ रोपनी जग्गा हत्याउन ठूलो चलखेल भएको उजुरीपछि आयोगले अनुसन्धान थालेको थियो ।​​

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।