राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचि सच्याउने, सुझाव माग

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचि सच्याउने, सुझाव माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्याउने बताएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ ।

समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।

‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो’, पार्टी सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त बन्दसूचीमा कुनै त्रुटी देखिएमा त्रुटी सच्याउन निर्वाचन आयोगले दिएको समयसीमाभित्र सुधार गरी समयमै पेस गर्ने रास्वपाले जनाएको छ ।
रास्वपाले दिएको सूचिमा दाजुभाई परेको, व्यापारी र चन्दादाताहरुलाई पहिलो नम्बरमा राखेर पार्टीले गरेको आन्तरिक मतदानमा सबैभन्दा बढी मत ल्याउनेहरुलाई पछि पारिएको । चर्चित र लोकप्रियतालाई मात्रै आधार मानिएको र सक्षमहरु जो प्रत्यक्ष चुनाव लड्न सक्छन् उनीहरुलाई पनि विभिन्न नातावादका साथ समेटिएको आरोप छ । पदाधिकारी पनि समानुपातिक सूचिमा भएका कारण त्यसलाई समेत सच्याउनुपर्ने माग छ । स्वयं रास्वपाका नेताहरुले पनि यस्तो सूचि पेश भएपछि आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

‘अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ’, विज्ञप्तिमा भनिएको छ ।