कुलमान घिसिङ, बालेन र रवि लामिछाने एक ठाउँ, उपसभापति पाउने

कुलमान घिसिङ, बालेन र रवि लामिछाने एक ठाउँ, उपसभापति पाउने



काठमाडौं । हाम्रो नेपालका अभियन्ता सुदन गुरुङको हस्तक्षेप र पहलपछि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बालेन र रवि लामिछानेसहितको राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्न सहमत भएका छन् । सहमतिसँगै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङ एउटै दल भएर आगामी निर्वाचनमा जाने सहमति जुटेको हो । आन्दोलनपछि परिवर्तनकारी शक्तिहरु छिन्नभिन्न भएको अवस्थामा परिणाम सुखद नहुने भन्दै चिन्ता व्यक्त गरिराखेको बेला यस्तो समाचार बाहिर आएको छ ।

सोमबार कमलपोखरीस्थित रास्वपा पूर्वसांसद् अशिम शाहको निवासमा भएको छलफलमा सहमति जुटेको रास्वपाका नेताहरूले बताए। सहमतिपत्रको मस्यौदा तयार भइसकेको र हस्ताक्षर पछि दुबै पक्षले सार्वजनिक गर्ने जानकारी सुदनले दिएका छन् । उनले अन्ततः एकताबद्ध गर्न सफल भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

यसअघि रवि लामिछाने र बालेन शाहबीच छलफल भइरहेको स्थानमा काउन्सिल अफ जेन–जीका अभियानी सुदन गुरुङले कुलमान घिसिङलाई सहभागी गराएका थिए। बौद्धस्थित एक होटलमा समानुपातिक सूची बनाइरहेका कुलमानलाई गुरुङले आफ्नै गाडीमा राखेर रवि–बालेन भएको स्थानमा पुर्‍याएका थिए। त्यसपछि भएको संवादले एकताको सहमति टुंगिएको नेताहरूको दाबी छ।

कुलमान घिसिङको टिमबाट १८ जना समानुपातिक बन्द सूचीमा समावेश हुनेछन्। यस्तै सहमति अनुसार कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाउने समझदारी समेत भएको नेताहरूले बताएका छन्।

रास्वपाका उपसभापति डीपी अर्यालले पनि तीनै जना मिलेर अघि बढ्ने सहमति भएको पुष्टि गरे। त्यस्तै, हामी नेपालका संस्थापक सुदन गुरुङले कुलमान र रवि लामिछाने एउटै दलबाट समानुपातिक बन्द सूची बुझाएर निर्वाचनमा जाने सहमतिमा पुगेको बताए ।