काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार बयान दिएका छन् । उनी बयान दिन जाँदा भएका घटनाक्रम, आफ्नो धारणा सबैको तयारी प्रतिवेदन नै बोकेर पुगेका थिए । उनले बयान दिएर बाहिर निस्किने वित्तिकै आफ्नो लिखित धारणा भन्दै उक्त सार्वजनिक गरेका छन् ।
सचिवालयले उपलब्ध गराएको लिखित धारणमा लेखकले आफूले प्रदर्शनका क्रममा बल प्रयोग गर्न कुनै आदेश नदिएको दाबी गरेका छन्।
उनले भदौ २२ गते सुरक्षा समितिको बैठक राखेर ’कुनै हताहती नहोस्’ भन्दै संयमता अपनाउन निर्देशन दिएको तर जेनजी आन्दोलनकारीको भेषमा आएका लोकतन्त्र विरोधी तत्त्वले ‘जेनजी’ को शान्तिपूर्ण प्रदर्शनलाई ’हाइज्याक’ गरेको जिकिर गरेका छन्।
लेखकले आयोगलाई बुझाएको जवाफमा गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा अधिकारीकै हातमा हुने भन्दै गोली चलाउने वा बल प्रयोग गर्ने आदेश आफूले नदिएको स्पष्ट पारेका छन्।
राज्यका प्रमुख अङ्गहरूमाथिको आक्रमणलाई उनले लोकतन्त्र सिध्याउने सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएर नैतिकताको आधारमा तत्काल राजीनामा दिएको उनले स्मरण गराएका छन्।

प्रतिक्रिया