काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छन् ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दो उनले यस्तो भनाइ राखेकी हुन् । आफू नेतृत्वको सरकार अचानोजस्तो बनेको टिप्पणी गर्दै प्रम कार्कीले मुलुकलाई बंगलादेश बनाउन दिन नहुनेमा जोड दिइन् ।
राजनीतिक दल र जेन—जीका समूहले दिनदिनै सरकार छोड् भनी गालीगलौज गर्ने गरेको भन्दै प्रधानमन्त्रीले दुखेसो पनि पोखेकी छन् । आफूहरू अहिले धैर्यधारण गरी सबैकुरा सहेर बसेको उनको भनाइ छ । प्रधानमन्त्रीले केही दिनअघि सिंहदरबारमा बसेको सर्वपक्षीय बैठकमा पनि यस्तै दिक्दारी व्यक्त गरेकी थिइन्।
‘हामी अचानो जस्तो पो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छ । अहिले छोड, भोलि छोड भन्छ । जेन—जीले पनि आजै छोड, भोलि छोड, पर्सि छोड भन्छ । छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरुलाई एउटा, तिमीहरुको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्यौ भन्ने भाष्य आउँछ’, प्रधानमन्त्री कार्कीले गुनासो गर्दै भनिन्, ‘हामी त पेण्डुलम जस्तो भयौँ । त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ । निर्वाचन किन चाहियो भन्ने भाषा पनि आएको छ, युवाहरुमा । कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रो बारेमा पनि कथा लेख्नुस् । २५ वटा ३० वटा जेनजी समूहहरु हुनुहुन्छ । एउटाले एउटा काम, अर्कोले अर्को काम गर भन्नुहुन्छ । मुलुक बंगलादेश नहोस् भन्ने सुरमा हामी छौँ । बंगलादेश चाहीँ नहोस् ।’

प्रतिक्रिया