मेलबर्नको अध्यात्मिक महोत्सव सकियो, ५ लाख १२ हजार डलरको प्रतिबद्धता

मेलबर्नको अध्यात्मिक महोत्सव सकियो, ५ लाख १२ हजार डलरको प्रतिबद्धता

ऋणमुक्त बनाउने अभियानमा एक सय ४२ नयाँ सदस्यहरु थपिए, २ लाख ३० हजार ८ सय १५ संकलन


मेलबर्न, अष्ट्रेलिया ।

राधिका दासीको उपस्थितिमा मेलबर्नमा सञ्चालित अध्यात्मिक महोत्सव सम्पन्न भएको छ । महोत्सवमा १ सय ४२ नयाँ सदस्यहरु थपिएका छन् भने संस्थालाई ऋणमुक्त गराउने उद्देश्य अनुरुप कूल सहयोग संकलन ५ लाख १२ हजार २ सय को प्रतिबद्धता प्राप्त भएको छ । केविसीखबरसँग कुरा गर्दै महोत्सव संयोजक एवं बहुसांस्कृतिक केन्द्रका उपाध्यक्ष केशव कँडेलले २ लाख ३० हजार ८ सय १५ सहयोग राशी बैंकमा जम्मा भइसकेको र बाँकी रकम जम्मा हुँदै जाने जानकारी दिए । उनले भने, हामी ऋणमुक्त हुनेगरी प्रतिबद्धता प्राप्त भयो । रकम सदस्यहरुले तथा दाताहरुले दिएपछि संस्था ऋणमुक्त हुनेछ । २५ हजार रकम सहयोग गर्ने प्रतिबद्धतासहित १५ जना संरक्षक बन्नुभएको पनि उनले जानकारी दिए ।

कँडेलले कार्यक्रममा भएको खर्च विवरण भने अहिले उपलब्ध भइनसकेको र लामो बिदापछि स्पष्ट पारिने जानकारी दिए ।
डिसेम्बर १२ तारिखमा उद्घाटन गरी १८ तारिखदेखि २३ तारिखसम्म सञ्चालित प्रवचनसहितको भजनकीर्तन र पूजाअर्चनासहित अध्यात्मिक महोत्सव आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी हुन राधिका दासीका साथ ५ जनाको टिम नेपालबाट आएको थियो ।

भन्डारा, स्वयंसेवामा सहयोग क्रेगीबर्न नेप्लीज कम्युनिटी, गैरआवासीय नेपाली संघ भिक्टोरिया, डोरेन मरन्डा कम्युनिटी, नर्दन नेप्लीज कम्युनिटी ईन्क, ईपिंग उलर्ट अभिभावक समाज, क्रेगीबर्न अभिभावक समाज, ग्लेनरोय बुबाआमा ग्रुप, चितवन समाज लगायतले पनि सक्रियतापूर्वक सहभागिता जनाएका थिए ।

अध्यक्ष डा. तिलक पोखरेलले उनले पवित्र मनले संस्थालाई ऋणमुक्त गराउने अभियानमा साथ दिने दाताहरु सबैभन्दा बढी धन्यवादको पात्र भएको बताए । साथै उनले कार्यक्रममा स्वयंसेवा गर्ने सबैजनालाई पनि धन्यवाद दिए ।

दुई साता लामो बसाईपछि राधिका दासी अब सिड्नी जाँदै हुनुहुन्छ । त्यहाँ जनवरीको २ देखि ४ तारिखसम्म कार्यक्रम रहेको छ । यस्तै उहाँले एडिलेडमा पनि आफ्नो प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।