रवि बालेन भेटमा झण्डै आधा घण्टा गीतको माहोल पनि बन्यो

रवि बालेन भेटमा झण्डै आधा घण्टा गीतको माहोल पनि बन्यो

भेटमा दुबै पक्षका गरी ८ जना सहभागी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रास्वपा सभापति रवि लामिछानेबीच सोमबार राति भएको भेटको चर्चा अझै जारी छ । सोमबार राति डेढ बजेसम्म असिम शाहको स्टुडियोमा भएको भेटमा दुबै पक्षका गरी ८ जना सहभागी रहेको खुलेको छ ।
असिम साह, आशिफ साह, डीपी अर्याल, रवि लामिछाने, बालेन्द्र शाह, निश्चल बस्नेत र बालेनका सहयोगी कुमार बेन कुराकानीमा सहभागी थिए । रवि लामिछानेभन्दा २५ मिनेट पहिले नै त्यहाँ पुगेका बालेन्द्र साहलाई भेट्न पुगेका रविले उनीसँग करिब तीन घण्टा एक्लाएक्लै कुराकानी समेत गरेका थिए ।

यो क्रम रातिको खाना खाएपछि ९ बजेबाट सुरु भएको थियो ।
खाना खानुअघि भने दुबैलाई एकअर्कासँग परिचय गराउने कार्यक्रम तय भयो । त्यस क्रममा रवि लामिछानेले गीत गाएर बालेनसँग बोली मिलाएका थिए । कुनैपनि राजनीतिक कुराकानी नगरीकन पारिवारिक परिचय, एकअर्काको यसअघिका धारणा लगायतका विषयहरु नै यो क्रममा उठेका थिए ।
बालेन्द्र साह आफुहरुको राजनीतिक सफलतापछि रवि लामिछाने राजनीतिमा आएको मान्छन् भने महानगरपालिकाले खोला छेउका वस्ती हटाउन खोज्दा रवि लामिछानेले सहयोग नगरेको कारण अलि टाढिएको अवस्थामा थिए । तर, जेन्जी आन्दोलनपछिको वातावरणमा भने रवि लामिछाने सहितको एकताबाट मात्रै आगामी दिनमा नयाँ म्यान्डेट स्थापना गर्न सकिन्छ भन्ने मान्दथे ।

उता रवि लामिछानेले पनि यसअघि कुलमानसँगको वार्ताका क्रममा कार्यवाहक सभापति समेत दिन नसकिने बताएर वार्ता टुंग्याएको दुई पक्षबीचमा बालेन्द्र पार्टीमा आएको अवस्थामा उनलाई प्रधानमन्त्रीको उम्मेद्वार मानेर जान सकिने धारणा राखेका छन् । तर, यस विषयमा हालसम्म औपचारिक रुपमा भने कुनै कुरा बाहिर आएको छैन । मंगलबार चितवनमा पनि उनले राजनीतिक विषय प्रवेश भइनसकेको बताएका छन् ।

मुख्यतः बालेन्द्र साह महानगरको कार्यकाल सकाएर मात्रै राजनीतिमा होमिने हो कि भन्ने विषयमा विचार गरिरहेका छन् । अर्कोतर्फ उनले कुलमानलाई सहयोग गर्ने बचन दिइसकेका कारण पनि अहिले नै के गर्ने निर्णय गर्ने अवस्थामा छैनन् । कुलमानको पार्टीबाट कुलमानलाई नै भावी प्रधानमन्त्रीको उम्मेद्वार बनाएर सहयोग गर्दै अघि बढ्ने र आफ्नो कार्यकाल सकाएपछि मात्रै पार्टी राजनीतिमा लाग्ने योजनामा बालेन हुनसक्ने जानकारहरु बताउँछन् । तर, रविले प्रधानमन्त्रीकै रुपमा बालेनलाई प्रस्ताव गरेको अवस्थामा भने परिस्थिति फरक हुनसक्ने आंकलन पनि गरिएको छ ।

दुईबीच एक्लाएक्लै के कुराकानी भयो भन्ने नखुले पनि त्यसअघिको माहोलमा देशले रगत मागे मलाई बली चढाउनु भन्ने बोलको गीतमा दुबैले गाएका देखेकाहरुले भने कुनैपनि परिस्थितिमा नयाँ शक्तिहरु अब एक ठाउँमा आउनबाट रोक्न नसक्ने ठान्दछन् ।