काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज बसेको प्रधानमन्त्री र शीर्ष तीन नेताहरूसहितको बैठक सकिएको छ । बैठकमा फागुन २१ गते हुने चुनाव सम्पन्न गर्न वातावरण बनाउने समझदारी जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
मङ्गलवार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच राष्ट्रपतिको उपस्थितिमा छलफल भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।
‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलले बैठकमा भने ।
देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै उनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया