मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियामा नेपालीको बाक्लो बसोबास रहेको क्षेत्रमध्येको एक मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित क्रेगीबर्नमा नेपालीहरुले चलाएको संस्था क्रेगीबर्न कम्युनिटीको नयाँ अध्यक्षको रुपमा एक २८ वर्षीय युवा चयन भएका छन् । नेपालमा जेन्जी आन्दोलनको असर नै नभएपनि अघिल्लो कार्यकालमा उनको संस्थाप्रतिको लगाव देखेर ल यस पटक उसैलाई नेतृत्वमा लैजाउँ भन्ने सर्वसम्मति बनेको थियो । उनी अष्ट्रेलिया आएदेखि नै भिक्टोरियाको ग्लेनरोयमा बसोबास गरे । सन् २०१९ देखि भने उनी क्रेगीबर्न सरेका हुन् । त्यसपछि नेपालमै पढेको सामाजिक कार्य र आफ्नो रुचिको विषयले उनलाई क्रेगीबर्न समाजसँग जोडेको थियो । क्रेगीबर्न समाजमा यो क्षेत्रमा बसोबास गर्ने ५ सय परिवारमध्ये ३ सय जोडिएका छन् । समूदायसँगको सहकार्यमात्र होइन सरकारी निकाय र राज्यसरकारको समेत सहकार्यमा अघि बढ्ने योजना बनाइरहेका सुजनसँग हामीले अबको योजनाका विषयमा छोटो कुराकानी गरेका छौं –
० गएको एक वर्षमा के के गरियो ? अबको योजना के छ ?
सर्वप्रथम त केविसीखबरलाई धन्यवाद, यो समयको लागि । म अर्को दुई वर्षको लागि क्रेगीबर्न नेपाली कम्युनिटीको अध्यक्ष भएको छु । मैले के गर्छु भन्दा पनि १३ जनाको टिम बनाएका छौं । सबैको योजनामा काम गर्छौं । सामूहिक निर्णय नै हाम्रो शक्ति हो भन्ने लाग्छ । भावी योजनाको कुरा गर्नुपर्दा नेपाली समूदायलाई यहाँ चिनाउनुपर्छ भन्ने हाम्रो विचार हो । यसका लािग हामी यो उत्तरी मेलबर्नको क्रेगीबर्न वरिपरिका अरु सवअर्बमा रहेका नेपालीमूलका अष्ट्रेलियनहरुले खोलेका पाँच ६ वटा संस्था जुटेर नेपाली फेष्टिभल गर्नुपर्छ भन्ने सोचमा छौं ।
० कस्तो फेष्टिभल ?
जुनकुनै हुनसक्छ । सबैजनासँग सल्लाह गरेर कुनै फेष्टिभल जसले नेपाललाई चिनाउँछ, परम्परा जनाउँछ त्यसलाई ठूलो स्टेजमा देखाउने चाहना छ ।
० त्यसोभए, मल्टिकल्चरल फेष्टिभल गर्ने विचार हो ?
हैन, सबैलाई सहभागी हुनका लागि बोलाउन त सकियो, तर नेपालीहरुको नै फेष्टिभल पार्कमा भव्य रुपमा मनाउनुपर्छ भन्छु म । जस्तो दशैं फेष्टिभल हुन सक्ला । या तीज हुन सक्ला महिला दिदीबहिनीहरुको लागि । यस्तै मेरो दोश्रो काम चाहीँ, क्रेगीबर्न ईथ्नीक नेपाली स्कुललाई शनिबारको क्लासका लागि कुनै पब्लिक स्कुलमा ठाउँको व्यवस्था गरेर त्यसलाई नियमित रुपमा सञ्चालन गर्ने चाहना छ ।
० सामूदायिक संघसंस्थामा महिलाको सहभागिता कम देखिन्छ । अघिल्लो पटक अध्यक्ष नै महिला हुनुहुन्थ्यो क्रेगीबर्न समाजको । अहिलेको कमिटीमा कस्तो छ उपस्थित र सहभागिता ?
हामीले अहिलेको कार्यसमिति चयन गर्दा ईओआई मागेका थियौं । १० जनाले आवेदन दिनुभएको थियो काम गर्न चाहन्छु भनेर । त्यसमा कसैले पनि कुन पदमा,कसरी काम गर्ने खुलाउनुभएको थिएन । यसैकारण हामीले महिला पनि भएको र नेतृत्वका हिसाबले पनि सही हुन्छ भनेर पुष्पा क्षेत्री दिदीलाई उपाध्यक्षको रुपमा काम गर्न चाहनुहुन्छ भनेर सोधेका थियौं । उहाँले पनि स्वीकार्नुभयो । र, अहिले उहाँ उपाध्यक्ष हुनुहुन्छ । अर्को एकजना चाहीँ सदस्यको रुपमा उषा गिरी दिदी हुनुहुन्छ । समाजको लागि केही गर्नुपर्छ भनेर यो पटकको कार्यसमितिमा सबैजना आउनुभएको अवस्था छ । नयाँ कार्यसमिति आएको एक महिना हुनलाग्यो । हामी छलफल गरिरहेका छौं, केही ठोस योजना लिएर आउनेछौं । सल्लाहकार परिषद् पनि बनाइसकेका छौं, उहाँहरुको पनि सल्लाह लिन्छौं ।
० क्रेगीबर्नमा कति नेपाली छन् र संस्थामा कति छन् सदस्य ?
हामीले सदस्यता शुल्क १० डलर लिएका थियौं । तर, अधिवेशनबाट निर्णय गरेर सदस्यता निःशुल्क गरेका छौं । यसको मुख्य उद्देश्य डाटाबेस बनाउने नै हो । सबै एकै ठाउँमा आउनुपर्छ भनेर यस्तो गरेका हौं । क्रेगीबर्न मात्र होइन यस वरपर बस्ने जो कोही सदस्य बन्न सक्नुहुन्छ । अहिले हाम्रो जानकारी अनुसार ५ सय भन्दा बढी परिवार क्रेगीबर्नमा बस्नुहुन्छ । त्यसमध्ये करिब ३ सय परिवार सदस्य हुनुहुन्छ । अब हामी चाँडै अनलाईनमार्फत नै सदस्यता लिनसक्ने व्यवस्थासहित आक्रामक सदस्यता वितरणमा लाग्छौं ।
० अलिकति आफ्नै बारेमा, कति भयो अष्ट्रेलिया आएको, के के गरियो यो अघि ?
म सुजन शर्मा, मेरो नेपालमा घर काठमाडौं हो । मेरो जन्म नुवाकोटमा । विगतमा ८ वर्षदेखि नै म मेलबर्नमा बसोबास गर्दै आएको छु । यसअघि ग्लेनरोयमा थिएँ । त्यसपछि २०१९ देखि क्रेगीबर्न सरें । मैले नेपालमा व्याचलर अफ सोसियल वर्क पढेको हो । त्यसैले समाजलाई केही दिनुपर्छ भन्ने मेरो नेपालदेखि नै थियो । सुरुमा विद्यार्थी कालमा केही स्ट्रगल त थियो । क्रेगीबर्न सरेपछि नै मैले संस्थामा बसेर काम गरिरहेको हो । गत कार्यकाल म कोषाध्यक्ष थिएँ । त्यसपछि अब नेतृत्व गर्छु भन्ने आँट आएको हो । नेपालमा फेरि जेन्जी आन्दोलन भयो । त्यसपछि मैले किन नसक्ने भन्ने लाग्यो । सबैले सहयोग गर्नुपनि भयो । मलाई लाग्छ २८ वर्षको उमेरमै क्रेगीबर्न समाज हाँक्ने म पहिलो व्यक्ति नै हुँ ।
० सामूदायिक संस्थाहरु आर्थिक रुपमा कस्तो छन् ?
हामी सदैव दबाब मै हुन्छौं । सरकारी निकायहरुसँगको अनुदानमा भर पर्नुपर्छ वा सदस्यता शुल्कमा नै हो । त्यसैले आर्थिक रुपमा संस्थालाई सबल बनाउनुपर्छ भन्ने लाग्छ । हामी यसतर्फ नै लाग्छौं । सरकारी निकायबाट प्राप्त हुने सहायतामा हाम्रो जोड हुन्छ । त्यसभन्दा बढी धन्यवादको पात्र चाहीँ नेपालीले चलाएका व्यवसायिक संघसंस्था जसले हामीलाई सहयोग गरे उनीहरुप्रति आभारी छौं । कुनैपनि सामूदायिक संघसंस्था अघि बढ्नका लागि सरकारी सहयोगको अपरिहार्यता रहन्छ । यसैकारण यहाँको राज्य सरकार, संघीय सरकारको सहयोग चाहिन्छ । त्यसका लागि हामी क्रियाशील हुन्छौं ।
TEAM Craigieburn Samaj 2025-27

Vice President – Pushpa Kshetri
Secretary – Susan Gautam
Treasurer – Aakash Poudel
Member – Usha Giri
Member – Roshan Adhikari
Member – Bijay Dotel
Member – Nawaraj Bhandari
Member – Hari Sapkota
Member – Bipan Adhikari
Member – Madhuri Maskey
Member – Amrit Thapa
Member – Nirajan Dulal

प्रतिक्रिया