मेलबर्न, अष्ट्रेलिया ।
मेलबर्नका नेपाली समुदायमा यतिबेला ‘मेलबर्न आध्यात्मिक उत्सव’ को उल्लास छाएको छ। अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको आयोजनामा हुन लागेको उत्सवमा सहभागी हुन प्रख्यात कथावाचिका राधिका दासी मेलबर्न आइसकेकी छिन् । उनी बिहीबार मेलबर्न उत्रिँदा बहुसांस्कृतिक केन्द्रका अध्यक्ष डा. तिलक पोखरेल, एनआरएन भिक्टोरिया संयोजक महादेव धानुक लगायतका पदाधिकारी एयरपोर्टमा स्वागतका लागि पुगेका थिए । यति मात्र होइन । उनलाई लिम्बोजिनमा एयरपोर्टबाट बहुसांस्कृतिक केन्द्रसम्म ल्याइएको थियो । कुनै धार्मिक कार्यक्रममा सहभागी हुने अतिथिलाई लिम्बोजिन राईड गराएर यस किसिमको स्वागत गरिएको यो पहिलो पटक हो । यसअघि कलाकारहरुलाई भने यस्तो यात्रामा सहभागी गराउने गरिएको थियो ।

यस्तो छ अध्यात्मिक उत्सवको कार्यक्रम
ुमेलबर्न आध्यात्मिक उत्सवुको मुख्य कार्यक्रम डिसेम्बर १८ तारिखको कलश यात्रा पश्चात सुरु हुनेछ। १८ तारिख दिउँसो ३ बजे सबैजना भेला भई ४ बजेदेखि कलश यात्रा सुरु गरिने आध्यात्मिक उत्सव संयोजक तथा एएनएमसी उपाध्यक्ष केशव कंडेलले जानकारी दिए । उनले भने, यो महोत्सव धार्मिक रुपले मात्र नभइ सांस्कृतिक रुपले पनि नेपाली समुदायका लागि अत्यन्त महत्त्वपूर्ण उत्सव हो। त्यसैले कलश यात्रामा सहभागी हुँदा सम्भव भएसम्म आफ्नो मौलिक, सांस्कृतिक भेषभुषा सहित आउनुहुन हामी सबैलाई अनुरोध गर्दछौँ। यसले नेपाली समुदायको सांस्कृतिक चिनारी, एकता र संगै, संस्थाप्रति अपनत्वको भावको पनि प्रतिनिधित्व गर्नेछू।
मन्दिर तथा गुम्बा सहितको सांस्कृतिक केन्द्र निर्माणका लागि स्थापना भएको एएनएमसीले आफ्नो मुख्य उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। संस्थाका वर्तमान अध्यक्ष तिलक पोखरेलले यस्ता कार्यक्रमले संस्थाको मुख्य उद्देश्य संगै नेपाली समुदायको पहिचान तथा प्रबर्द्धनमा पनि सहयोग पुग्ने बताएका छन् ।



यसपटकको धार्मिक महोत्सवको अर्को उद्देश्य ‘ऋणमुक्त एएनएमसी’ पनि हो। यसका लागि हातेमालो गर्न एएनएमसीले सबैलाई अनुरोध गरेको छ। अध्यक्ष पोखरेलका अनुसार, यस आध्यात्मिक महोत्सवबाट संकलित आर्थिक सहयोग एएनएमसीको जग्गा खरिदका क्रममा लागेको ऋण तिर्नका लागि प्रयोग हुनेछ। हामीसंगको कुराकानीमा पोखरेलले महोत्सव सफल बनाउनका लागि सबैजनाको सहयोग रहेमा यो उद्देश्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।


मेलबर्न आध्यात्मिक महोत्सवको मुख्य कार्यक्रम १९ देखि २३ डिसेम्बरसम्म चल्नेछ। मुख्य कार्यक्रम अवधिमा संगीतमय सत्संग प्रवचन, भगवानका लिलाहरुको नाटक सहितका विभिन्न प्रस्तुतिहरु र महाआरती लगायतका कार्यक्रम रहनेछन्। मेलबर्न आध्यात्मिक महोत्सव डिगर्स रेस्टस्थित एएनएमसीको आफ्नै प्राङ्गणमा हुनेछ।

प्रतिक्रिया