मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया मेलबर्नको उत्तरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई त्यहाँको स्थानीय काउन्सिल अर्थात् नगर परिषद्का काम कारवाहीबारे जानकारी दिने उद्देश्यका साथ एनआरएनले कार्यक्रम सम्पन्न गरेको छ । नेपालीको बसोबास रहेको क्रेगीबर्न, ब्रोडमेडोज, डलास, कालकलो, डोनीब्रुक लगायतको क्षेत्रमा फैलिएको ह्युम सिटी काउन्सिलको सहकार्यमा आयोजित कार्यक्रममा नेपालबाट अष्ट्रेलियाका आएका २५ भन्दा बढीको सहभागिता थियो ।
कार्यक्रममा मुख्यतः स्थानीय कानून, नगरमा प्राप्त सुविधाहरु, आपतकालीन अवस्थामा प्राप्त गर्ने सुविधाहरु प्रहरीसँगको कुराकानी लगायतका विषयमा विज्ञहरुले आफ्नो प्रस्तुति दिएका थिए भने सहभागीहरुलाई प्रश्न सोध्ने मौका समेत दिइएको थियो । कार्यक्रमको संयोजन नारी निकुञ्ज भिक्टोरियाका उपसंयोजक ललिसा थापाले गरेकी थिइन् भने एनआरएन भिक्टोरिया संयोजक महादेव धानुकले सहजीकरण गरेका थिए । कार्यक्रममा क्रेगीबर्न नेपाली समाजका अध्यक्ष सुजन शर्मा उपाध्यक्ष पुष्पा क्षेत्रीले पनि सहभागीहरुलाई सहजीकरण गरेका थिए ।


अष्ट्रेलियामा यहाँको स्थानीय कानून र नियमको जानकारी नहुँदा कैयौं नेपालीहरु वर्षेनी जोखिममा पर्दै आएका छन् भने यहाँको सरकारी सेवा र सुविधाबारे जानकारी नहुँदा त्यस्तोबाट विमुख समेत हुनुपर्ने अवस्था देखिँदै आएको छ ।
एनआरएन भिक्टोरियाले ह्युम सिटी काउन्सिलबाट सुरु गरेको यस्तो कार्यक्रम अन्यत्र पनि लैजान आवश्यक रहेको र सहभागितामा अझ विविधता अनि त्यही नगर क्षेत्रमा बसोबास गर्ने विद्यार्थी र युवाहरुलाई लक्षित गर्न आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया