नेपाली काँग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर अदालतमा

नेपाली काँग्रेस पनि संसद पुनर्स्थापनाको माग लिएर अदालतमा



ठमाडौँ । नेपाली कांग्रेसका ७ सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा पुगेका छन् ।

विघटित प्रतिनिधिसभामा प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति विक र जाबेदा खातुन जागा रिट लिएर सर्वोच्च गएका हुन् । उनीहरूले संसद् पुनर्स्थापनाको मागको वारेस लिएर पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई सर्वोच्च अदालतमा पठाएका छन् ।

सचेतक थिङले ७ जनाले सर्वोच्चमा पुनर्स्थापना माग गर्ने तयारी आफूहरूको रहेको जानकारी दिइन् । रिट सर्वोच्च अदालतमा पेस गरिएको र सोमबार दर्ता हुने जानकारी अदालत प्रशासनबाट आएको पूर्वमहान्यायाधिवक्ता खातीले बताए । निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पेस भएको र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय हुने अदालतले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी नेकपा एमाले तथा सार्वजनिक सरोकारअन्तर्गत १७ थान रिट दर्ता भएर विचाराधीन छन् । कांग्रेस बाहेकका अरु रिटको पहिलो सुनुवाइ भएको छ । सर्वोच्चले यसअघि दर्ता भएका सबै रिटहरुलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश गरिसकेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा सरकार बनेको थियो । कार्कीले शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन सिफारिस गरेकी थिइन् । उक्त सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका थिए ।