नेपाली दिदीबहिनीले खोले वुमन्स नेटवर्क अष्ट्रेलिया

नेपाली दिदीबहिनीले खोले वुमन्स नेटवर्क अष्ट्रेलिया



मेलबर्न, अष्ट्रेलिया ।

लामो समयदेखि भिक्टोरियामा क्रियाशील रहेको दिदीबहिनीहरुको संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो दायरालाई बढाउँदै अष्ट्रेलिया नेपाली महिलाहरुको सञ्जाल निर्माण गरेको छ । दिदीबहिनी समाज भिक्टोरियाकी वर्तमान अध्यक्ष र कार्यसमिति नै रहनेगरी दिदीबहिनी वुमेन्स नेटवर्क अष्ट्रेलिया गठन गरिएको हो ।

आगामी जनवरीमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ । मेलबर्नमा आयोजना गरिएको एक विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठ र सामाजिक अभियन्ता रानी दिदीले संस्थाको घोषणा गरेका हुन् । संस्थाको भिक्टोरिया राज्यमा मात्रै १८ युनिट कमिटी छन् ।

केविसीखबरसँग कुरा गर्दै अध्यक्ष रोशनी श्रेष्ठले भनिन् “हामीले अरु राज्यहरुमा पनि गएर काम गरिनै रहेका थियौं । नेशनल नै हुनुपर्यो भनेर धेरै दिदीबहिनीले मेसेजहरु पठाउनुहुन्थ्यो । यहाँको सफलतालाई लिएर अन्यत्र पनि जानुपर्छ भन्ने लागेर हामीले यो काम गरेका हौं । हामी सबै चाहन्छौं धेरै यस्ता अर्गनाईजेसनहरु खुलुन् सक्रिय बनुन् । हामी विभिन्न अन्य संस्थाहरुसँगपनि सहकार्यका आधारमा अघि बढ्छौं ।”

दिदी बहिनी समाज भिक्टोरियाले विभिन्न सामाजिक काम गरेवापत राज्य सरकारबाट एवार्डहरु पनि प्राप्त गरेको छ भने कैयौं कार्यक्रमहरु सरकारी अनुदानमा सञ्चालित छन् । कोभिडको बेला संस्थाले एक लाख डलरभन्दा बढीको अनदान प्राप्त गरेको थियो । दिदीबहिनी समाज भिक्टोरियाले महिलाविरुद्धको हिंसाको अन्त्यका लागि काम गरिरहेको छ । संस्थाले लैंगिक विभेद र डिजिटल हिंसा अन्त्यका विषयमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आयोजित कार्यक्रममा बबी लामा, किशोर वैद्य, रानी दिदी, डा. रुपक अर्याल लगायतको प्यानल निर्माण गरी अन्तरक्रिया गरिएको थियो ।