काठमाडौं ।
हालै एकताको हस्ताक्षर गरेको एनआरएनका पदाधिकारीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन् । भेटका क्रममा राष्ट्रपति पौडेलले आगामी चुनावमा विदेशमा बस्ने नेपालीहरुले सहयोग गर्नुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसंग बुधवार शीतलनिवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरु देशको समृद्धिको लागि जोडिन आग्रह गरेका थिए ।
भेटमा गैरआवासीय नेपालीहरुले उठाउदै आएका गैरआवासीय नेपाली नागरिकता, मताधिकार र लगानीका विषयमा सरकारसंग थप छलफल गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
संघको १२ औं अधिवेशन गराउन बनाइएको स्टेरिंङ कमिटीका सदस्यहरु डा. बद्री केसी र महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गैरआवासीय नेपाली संघका मुख्यमुद्धाहरुलाई पौडेल समक्ष ध्यानार्कषण गराएको थियो ।
भेटमा डा। बद्री केसीले गैरआवासीय नेपाली नागरिकता लागू भए पछिका जटिलताको बारेमा जानकारी दिर्दै अध्यादेश मार्फत नागरिकतामा आएका उल्झन फुकाउन आग्रह गरेका थिए ।
साथै महेश कुमार श्रेष्ठले गैरआवासीय नेपाली संघको विवाद अन्त्य गरि अब नेपालको समृद्धिको लागि केन्द्रीत हुने प्रतिबद्धता जनाएका थिए । उनीहरुले नेपालमा हुने निर्वाचनमा गैरआवासीय नेपालीहरुलाई मताधिकारको लागि सुनिश्चित गर्न आग्रह पनि गरेका थिए ।
यसैगरी भेटमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राष्ट्रपति पौडेलले देशमा भएको राजनीतिक परितर्वतनमा खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै गैरआवासीय नेपाली संघभित्र हालै भएको एकताले देशमा समेत सकारात्मक सन्देश दिएको बताएका थिए ।
गैरआवासीय नेपाली संघको एकता पछि पहिलो पटक गएको सो प्रतिनिधि मण्डलमा संघका पूर्वअध्यक्षहरु, वर्तमान तथा पुर्व पदाधिकारीहरु लगायतका अभियन्ताहरु पनि सहभागी थिए ।

प्रतिक्रिया