बंगलादेशमा शक्तिशाली भूकम्प, तीनको मृत्यु पुष्टि, धेरै घाइते

बंगलादेशमा शक्तिशाली भूकम्प, तीनको मृत्यु पुष्टि, धेरै घाइते



एजेन्सी । बंगलादेशमा शुक्रबार बिहान ५.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण हालसम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने २०० भन्दा बढी मानिस घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमले मृतकको सङ्ख्या ६ पुगेको दाबी गरे पनि प्रहरीले हालसम्म ३ जनाको मात्र पुष्टि गरेको छ।
स्थानीय समय अनुसार बिहान १० बजेर ३८ बजे आएको यो भूकम्पको केन्द्रबिन्दु ढाकाबाट २५ किलोमिटर टाढा नरसिङ्दीको मधाब्दीमा रहेको थियो।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि एउटा १० तले भवन अर्कोतर्फ ढल्किएको छ। भूकम्पको त्रासले राजधानीका मानिसहरू घर बाहिर सडकमा निस्किएका थिए।
यस्तै, भूकम्पका कारण बंगलादेश र आयरल्याण्डबीच चलिरहेको अन्तर्राष्ट्रिय क्रिकेट म्याच पनि केही बेर रोक्नुपरेको थियो।
गाजीपुरको श्रीपुरस्थित ‘डेनिमेक’ कपडा कारखानामा भूकम्पपछि ठूलो दुर्घटना भयो।
भूकम्पको धक्का महसुस हुनासाथ बाहिर निस्किने क्रममा भागदौड मच्चिँदा १५० भन्दा बढी मजदुर घाइते भएका छन्।
व्यवस्थापनले कारखानाको मुख्य गेट खोल्न नमानेपछि त्रास फैलिएर धेरै क्षति भएको मजदुरहरूले आरोप लगाएका छन्।
नारायणगन्जको रूपगन्जमा पर्खाल भत्किँदा १० महिनाकी एक बालिकाको मृत्यु भएको छ।
भूकम्प आएपछि आमाले छोरी बोकेर भाग्ने क्रममा सडक छेउको पर्खाल भत्किएर उनीहरूमाथि खसेको थियो। घटनामा शिशुकी आमा र एक छिमेकी घाइते भएका छन्।
भूकम्पको धक्का भारतको पश्चिम बङ्गालस्थित कोलकातामा पनि महसुस गरिएको छ। त्यहाँ बिहान १०स्१० बजे करिब २० सेकेन्डसम्म जमिन हल्लिएको थियो।

रिक्टर स्केलमा ५।२ मापन गरिएको उक्त धक्काले भारतका कूचबिहार, मालदा र नादिया लगायतका क्षेत्रमा असर गरे पनि कुनै क्षतिको खबर आएको छैन।