नेपाली केन्द्रलाई ऋणमुक्त गर्न मेलबर्नमा धार्मिक महोत्सव हुँदै !

नेपाली केन्द्रलाई ऋणमुक्त गर्न मेलबर्नमा धार्मिक महोत्सव हुँदै !


मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा धार्मिक महोत्सवको आयोजना हुनेभएको छ। भिक्टोरियामा नेपालीहरुको सबैभन्दा ठूलो संस्था अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर (एएनएमसी) ले महोत्सवको आयोजना गरेको हो। यो संस्था मेलबर्नमा पशुपति मन्दिर र गुम्बा सहितको नेपालीहरुको आफ्नै बहुसांस्कृतिक केन्द्र निर्माणको उद्देश्य सहित स्थापना भएको हो ।

यस वर्ष एएनएमसीले डिसेम्बर १८ देखि २३ तारिखसम्म संचालन हुने धार्मिक महोत्सवमार्फत जग्गा र भवन खरिद गर्दाको ऋण मुक्त गर्ने लक्ष्य राखेको छ । धार्मिक महोत्सवको समुद्घाटन शुक्रअस्तका कारण डिसेम्बर १२ तारिखमा गरिने पण्डित नारायण प्रसाद ज्ञवालीले जानकारी दिए । महोत्सवको मूख्य कार्यक्रम १८ देखि २३ तारिखमा रहनेछ। कलश यात्रा, पन्चेबाजा, विभिन्न भेषभुषामा झाँकी सहित एक सय एक कन्यालाई अगाडी राखेर महोत्सव उद्घाटन हुनेछ ।

एएनएमसीको आफ्नै प्राङ्गणमा हुने यस महोत्सवमा १९ देखि २३ तारिखसम्म राधिका दासीबाट संगीतमय सत्संग प्रवचन सुन्न पाइने भएको छ । साथै, महोत्सव अवधिभर दैनिक विभिन्न भेषभूषामा भगवानका लिलाहरु समेत देखाइनेछ ।

महोत्सव संयोजक तथा एएनएमसीका उपाध्यक्ष केशव कँडेलले ुहामी नेपाली, एक परिवारु भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सम्पूर्ण नेपाली समुदायलाई यस महोत्सवको सफलताका लागि सहयोग गर्नुहुन अनुरोध गरेका छन् । केविसीखबरसँग कुरा गर्दै कँडेलले नेपालीहरुको एकता, धार्मिक सहिष्णुता, संस्कृति र पहिचानलाई फैलाउन तथा एएनएमसीको मुख्य उद्देश्य प्राप्तिका लागि यो महोत्सवको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

‘हामी नेपाली, एक परिवार’ संदेश सहित महोत्सवको आयोजनामा जुटिरहेको एनएमसीले सबैलाई महोत्सवमा सहभागी भएर संस्थाको आजीवन सदस्य बन्न अनुरोध गरेको छ। संस्थाका अध्यक्ष तिलक पोखरेलले महोत्सवको अर्को उद्देश्य एएनएमसीलाई आर्थिक रुपले सबल बनाउने रहेको हुँदा सम्पूर्ण नेपाली समुदायलाई यसमा हातेमालो गरिदिनुहुन अनुरोध गरेका छन् ।

यस धार्मिक अनुष्ठानमार्फत ऋणमुक्त सांस्कृतिक केन्द्र बनाउन करिब ५ लाख डलर सहयोग जुट्ने अपेक्षा छ । भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुले बहुसांस्कृतिक केन्द्रको सदस्यता लिएर यो महाअभियानमा हातेमालो गर्न सक्छन् । अनलाईनमार्फत सदस्यता लिन तलको लिंक क्लीक गर्नुहोला ।

Click here for Membership >>