काठमाडौँ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निर्वाचित सरकारलाई शान्तिपूर्णरूपले सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौंस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिनुभयो ।
उहाँले सरकारको प्राथमिकता देशमा स्थायित्व कायम गरी निष्पक्ष निर्वाचन सम्पन्न गराउनु रहेको स्पष्ट पार्नुभयो। उहाँले आन्दोलनले नागरिक समाजमा पारदर्शिता, जवाफदेहिता र सुशासनप्रति उत्कर्षपूर्ण अपेक्षा पैदा गरेको बताउनुभयो र सरकार उक्त अपेक्षालाई पूरा गर्न कटिबद्ध रहेको छ भन्नुभयो ।
सरकारले सुशासन र जवाफदेहितातर्फ उठाएका कदमहरू पनि प्रधानमन्त्रीले प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया