घरबारविहीन भएर ट्रेन स्टेशनमा अलपत्र एक विद्यार्थीलाई एनआरएन भिक्टोरियाले स्वदेश फर्कायो !

घरबारविहीन भएर ट्रेन स्टेशनमा अलपत्र एक विद्यार्थीलाई एनआरएन भिक्टोरियाले स्वदेश फर्कायो !



मेलबर्न, अष्ट्रेलिया ।
मानसिक तनावका कारण घरबारविहीन बनेर कोबर्गको ट्रेन स्टेशनमा अलपत्र परेका एक नेपाली विद्यार्थीलाई एनआरएन भिक्टोरियाको पहलमा नेपाल पठाइएको छ । नेपाली विद्यार्थी अलपत्र परेको खबर आइपुगेपछि उपसंयोजक सशेन्द्र केसीले निज युवकलाई एक मोटेलमा केही दिन बस्ने व्यवस्था गरेका थिए ।

२० वर्ष उमेर कटेका निज विद्यार्थीसँगको छलफलपछि उनी बेखर्ची भएपछि घरबाट निकालिएको र त्यसपछि ट्रेन स्टेशनहरुमा पाँच दिनदेखि रात बिताएको उनले बताएका थिए ।

निजको पासपोर्ट रहेपछि भिसा भने सकिइसकेको अवस्थामा नेपालमा उनको परिवारसँग सम्पर्क गराई टिकट काटेर विमानस्थलसम्म छोडिएको हो । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विद्यार्थीका परिवारजनले भेटेर घर लगिसकेको एनआरएन भिक्टोरियाले जानकारी दिएको छ । यस कार्यमा भिक्टोरियास्थित नेपाली वाणिज्यदूतको कार्यालयले पनि समन्वय र सहजकर्ताको भूमिका निर्वाह गरेको थियो ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या बढेसँगै विभिन्न कारणहरुले मनसिक समस्याहरु देखिने क्रम पनि बढेको छ । विद्यार्थीहरुमा लागूपदार्थको दुव्र्यसन, जुवाको लत तथा कामको तनावका कारणले पनि यस्ता समस्याहरु आउने गरेका छन् ।

उद्धारका क्रममा निज विद्यार्थीले नेपाल जाने मनसाय व्यक्त गरेपछि त्यसमा सहयोग गरिएको हो । एनआरएन भिक्टोरियाले यस कार्यमा संलग्न हुने स्वयंसेवकहरुलाई धन्यवाद दिएको छ ।

तस्वीर : सांकेतिक मात्र