सिंहदरबार जल्दा दमकल नपठाएको आरोपबारे मेयर बालेन्द्र साहले दिए स्पष्टीकरण

सिंहदरबार जल्दा दमकल नपठाएको आरोपबारे मेयर बालेन्द्र साहले दिए स्पष्टीकरण


काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले सिंहदरबारमा आगो लागिरहेका बेला ुकाठमाडौँ महानगरको दमकल नपठाएको विषयमा अफवाह फैलिएको भन्दै विवरणसहित स्पष्टीकरण दिएका छन्।

उनले यस्ता आरोपहरू तथ्यहीन र भ्रम फैलाउने भएको पनि बताए। ‘प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, जो कोहीले चाहिँ सूचना अधिकार मार्फत महानगरबाट विवरण माग्न सक्थे,’ साहले स्पष्टीकरण दिँदै भनेका छन्, ‘तर गलत प्रचार रोक्नका लागि यो विवरण सार्वजनिक गरिएको हो।’

‘त्यो दिन सरकार निष्क्रिय थियो, तर स्थानीय सरकारको रूपमा हामी आफ्ना जिम्मेवारीबाट पछि हटेका थिएनौं,’ उनले दाबी छ।

‘त्यो रात सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, निजी घर र सार्वजनिक सम्पत्तिसम्म आगो लागेको थियो। सवारीसाधन चल्न नसक्ने र सुरक्षाकर्मीहरू समेत चौकी जोगाउन संघर्षरत अवस्थामै महानगरको टिम ज्यानको जोखिम मोलेर फिल्डमा खटिएको बताइएको छ’, उनले भनेका छन्।

उनले सिंहदरबारमा आगो लागेपछि दमकल पठाउने प्रयास गरिएको भएपनि आन्दोलनकारीको अवरोधका कारण दमकल प्रवेश गर्न नसकेको दाबी गरेका छन्।

नेपाली सेनाको दमकल भित्रै भए पनि भिडका कारण काम गर्न पाएको थिएन। भीड केही शान्त भएपछि मात्र २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको उनकोदाबी छ।

भदौ २३ देखि २८ गतेसम्मको अवधिमा सिंहदरबार मात्र होइन, संसद भवन, सर्वोच्च अदालत, डिल्लीबजार कारागार, बबरमहल जिल्ला अदालत, थापाथली र बालाजु क्षेत्रमा समेत ५५ पटकभन्दा बढी दमकल खटिएको उनले बताएका छन्।
यस्तै बालेन्द्र साहले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारमा पनि आफ्नो टिमले सहयोग गरेको बताएका छन् । यस्तै मृतकहरुको शवलाई सम्बन्धित ठाउँमा पठाउन सेना समेतको सहयोगमा आफुहरुले नै काम गरेको पनि उनको भनाई छ ।

मेयर साहले जनतालाई भ्रममा पार्ने, तथ्य नबुझी आरोप लगाउने र गलत प्रचार गर्नेहरूबाट सचेत रहन आग्रह गरेको छ।
‘सत्य बुझौँ, अफवाह नफैलाऔँ। जनताले सही जानकारी पाउने अधिकार राख्छन्,’ महानगरले भनेको छ, ‘हामी दोषबाट भाग्दैनौँ, जिम्मेवारीबाट कहिल्यै भाग्दैनौँ।’

महानगरले आफ्नो टिम जिउज्यानको जोखिम मोलेर दिन(रात आगो निभाउने, उद्धार, स्वास्थ्य र लास व्यवस्थापनमा खटिएको भन्दै जस खोजेको होइन, कम्तीमा सम्मानपूर्ण दृष्टिले हेर्न आग्रह गरेको छ।

मेयर साहले देशलाई अहिले एकता र सत्यको खाँचो भएको भन्दै हल्ला र झूट नफैलाउन अपील गरेका छन्।