जेनजी आन्दोलनको घाइतेको वर्गीकरण गरिने, प्रधानमन्त्रीको सल्लाहकारमा खनाल नियूक्त

जेनजी आन्दोलनको घाइतेको वर्गीकरण गरिने, प्रधानमन्त्रीको सल्लाहकारमा खनाल नियूक्त



प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्य सल्लाहकारमा नियुक्त गरेको हो ।

यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिम्सिनालाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

यस्तै, सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र प्रदान गर्ने निर्णय गरेको छ।

प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई पुनः उपचार गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी क्लिनिक सञ्चालन गर्ने, ती घाइतेहरूलाई आवतजावतका लागि र निस्शुल्क उपचारका लागि व्यवस्था मिलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेलले बताए ।

साथै घाइतेहरूको वर्गीकरण गर्नका लागि प्राविधिक समिति गठन गरिने र सोही बमोजिम वर्गीकरणको आधारमा उचित राहत समेत प्रदान गरिने उनले जानकारी दिए ।