अष्ट्रेलियामा आयो दशैं, फार्मबाट खसी काटेर ल्याउँदा अपनाउनुपर्ने सावधानी !

अष्ट्रेलियामा आयो दशैं, फार्मबाट खसी काटेर ल्याउँदा अपनाउनुपर्ने सावधानी !



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा नेपालीहरुको चाड दशैंको रौनक सुरु भएको छ । आफन्तजन नेपालबाट आउनेहरुका धमाधम आउँदैछन् । नेपाल जानेहरु पनि गइसके । अनि, यहीँ बसेर दशैं मनाउनेहरु बिदा मिलाउन, खानपानको जोहो गर्न लागिपरेका छन् । अष्ट्रेलियामा दशैंको बेला खसीको व्यापार उच्च हुने गर्दछ ।

यसका लागि नेपालीहरुले नै पनि खसीको मासु पसल खोलेका छन् । कतिपय नेपालीको घनाआवादी भएका ठाउँमा अन्य सुमरमार्केटहरुबाट पनि खसीको मासु बिक्री भइनै आएको छ । तर, दशैंको बेला नेपालीहरुले पछ्याउने गरेको एउटा तरिका चाहीँ ताजा मासुको चाहनामा फार्महरुमा पुग्ने र त्यहीँ काट्न लगाएर घरमा ल्याएर बनाउने हो । तर, कानूनी रुपमा यस्तो कार्य कतिपय अवस्थामा जोखिमपूर्ण हुने बताउँछन् मासु व्यवसायीहरु ।
मेलबर्नको डर्मिटमा व्यवसाय गर्दै आएका दिपेन्द्र खड्का कानूनी रुपमा खानका लागि फार्मबाट खसी ल्याउने कार्यले स्वास्थ्य जोखिमका साथै कानूनी झमेला दिनसक्ने बताउँछन् ।

केविसीखबरसँग कुरा गर्दै उनले भने, अष्ट्रेलियामा पशुलाई काट्नका लागि पनि लाईसेन्स लिनुपर्ने हुन्छ । यस्ता फार्महाउसहरुमा त्यस्तो कार्य गर्नका लागि स्वीकृति लिइएको छैन भने यो गैरकानूनी हुनजान्छ । साथै, स्वाथ्यका हिसाबले पनि काटेर सफा गरिसकेपछि त्यसलाई माईनस ५ ड्गिी तापक्रममा २४ घण्टा फ्रिजमा राखेर मात्रै खानयोग्य भनी छाप लगाएर बजारमा पठाउन पाईन्छ । यस्तो नगरेको मासु बिक्री शंकास्पद हुनजान्छ ।

अझ भिक्टोरियाका फार्महरुमा खरिद गरिने खसीको कानमा नेशनल लाईभस्टक आईडेन्टिफिकेशन नम्बर हुनैपर्दछ । यस्तो नभएका खसीहरु खरिद बिक्री गर्न नपाइने कानूनी व्यवस्था छ । फार्महरुसँग प्राईमसेफ लाईसेन्स र खसीलगायतका पशु काट्न पाउने लाईसेन्स पनि भएको हुनुपर्छ । अन्यथा उनीहरुले आफ्नो स्वयंको खपतका लागि बाहेक अन्यलाई बिक्री वितरणका लागि यस्तो कार्य गर्न पाउँदैनन् ।