काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना नवनियुक्त मन्त्रीहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा नयाँ मन्त्रीहरुले शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन् । स्वास्थ्यमन्त्रीमा डा। सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उनको नाम रोकिएको थियो । अख्तियारमा उजुरी रहेको कारण नाम अघि नबढेको बताइएको छ । उनी स्वास्थ्य मन्त्रालयमा उपसचिव थिइन् । पछिल्लो बढुवा प्रकरणमा उनको असन्तुष्टि थियो । आफु सिनियर हुँदाहुँदै अरुलाई सचिव बनाइएको भन्दै उनले आपत्ति जनाएकी थिइन् । यद्यपि त्यहाँ पनि यही विवाद कारण मानिएको छ । भ्रष्टाचार सम्बन्धी छानविन भइरहेको छ ।
शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी तथा व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रतिक्रिया