रिसाए प्रकाशशरण महत, ‘नेतृत्व परिवर्तनको बहसको बेला होइन’

रिसाए प्रकाशशरण महत, ‘नेतृत्व परिवर्तनको बहसको बेला होइन’



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले घरमै पत्रकार सम्मेलन गरेर अहिले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका छन् । जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै उनले हिंसालाई सही ठहर गर्न नसकिने बताए । आफ्नो जलेको घरमै पत्रकार सम्मेलन गरेका उनी आक्रोशित मुद्रामा उपस्थित थिए । उनले पार्टी सभापति शेरबहादुर देउवामाथि साङ्घातिक हमला भई उपचाररत रहेको अवस्थामा नेतृत्व परिवर्तनको बहस चलाउनु दुर्भाग्यपूर्ण भएको समेत बताएका थिए । महत देउवा निकट मानिन्छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै जिम्मेवार नेताहरू नै असंवेदनशील बनेको आरोप लगाए। पार्टी एक भएर कमीकमजोरी हटाउँदै अघि बढ्नुपर्ने बेलामा आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको उनको आपत्ति छ । समयमै महाधिवेशन गर्ने जिम्मेवारी नै महामन्त्रीहरुको भएको भन्दै गफले होइन कामले जवाफ दिनुपर्ने उनको ठहर थियो ।
उनले भने, ‘चार दिनअघिसम्म, २३ गतेसम्म त्यही सभापति अत्यन्त ठीक हुने। हामी त बरु अलि टाढा भएका थियौँ। जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल नेतृत्व परिवर्तनको कुरा गरिरहनुभएको छ, उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो।’

नेतृत्वबारे छलफल गर्न पार्टीका केन्द्रीय समिति जस्ता संरचनाहरू रहेको र सभापतिको उपचार सकिएपछि त्यहाँ गम्भीर छलफल गर्न सकिने उनले स्पष्ट पारे। कार्यसम्पादन समितिले गरेको आधिकारिक निर्णयभन्दा बाहिर गएर छुट्टै बहस थाल्नुले पार्टीलाई बलियो नबनाउने उनको चेतावनी थियो।