काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकार गठन गर्ने समयमा संविधान लिक बाहिर गएको बताएको छ । अन्तरिम सरकार बनाउन अक्षरभन्दा भावना खोज्नुपर्ने बाध्यात्मक परिस्थितिमा संविधान थोरै लिक बाहिर गएको रास्वपाको निचोड छ ।
वर्तमान सरकारले घोषणा गरेको चुनावमार्फत संविधान पुन: सही दिशामा आउने अपेक्षा रास्वपाले गरेको छ । संविधान दिवसको अवसरमा शुभकामना दिएका कार्यवाहक सभापति डीपी अर्यालले भने, ‘निर्वाचन सफल बनाउने राष्ट्रिय अभिभारामा सामूहिक र सार्थक खबरदारी एवं पहलकदमीका लागि सम्बद्ध सबैमा आह्वान गर्दछौं ।’
संविधानमा निहित लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानताका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न रास्वपा दृढ रहेको अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘संवैधानिक सुधारको मुद्दा पनि निरन्तर उठाउँदै आएको स्मरण गराउँछौं । संविधान परिमार्जन नगरी मुलुकमा आमूल सुधारको सुरुवात हुन्न भन्ने हाम्रो अडानलाई पछिल्लो जेन–जी विद्रोह र त्यसक्रममा उठेका आवाज र व्यक्त भावनाले पनि पुष्टि गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया