मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको विदेश मन्त्रालयको आयोजनामा यहाँ रहेका नेपालीहरुसँग अहिलेको नेपालको अवस्था, अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकहरुको अवस्था लगायतका विषयमा छलफल भएको छ । भर्चुअल माध्यमबाट गरिएको अन्तरक्रियामा अष्ट्रेलियन सहायक विदेशमन्त्री म्याट थिसलथ्वेट र सहायक रक्षामन्त्री पिटर खलिल सहभागी थिए । यस्तै केही सांसदहरु समेत उपस्थित थिए ।
कार्यक्रममा एनआरएन अष्ट्रेलिया, फेडरेसन अफ नेप्लीज कम्युनिटी अर्गनाईजेसन एशोसिएसन फेन्का, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जा, विभिन्न राज्यमा रहेका नेपाली सामूदायिक संघसंस्थाका नेतृत्वकर्ताका साथै जेनजी अभियानमा समर्थन गरिरहेका अभियन्ताहरुको पनि सहभागिता थियो । छलफलका क्रममा हालको काठमाडौंको अवस्थाका विषयमा कुराकानी भएको थियो । मेलबर्नका नेपाली समूदायका सदस्यहरु सहायक रक्षामन्त्री खलिलको कार्यालयमा भेला भएका थिए ।
जसमा सबैले लोकतान्त्रिक मूल्य र मान्यता, मौलिक मानव अधिकारको सुनिश्चितता, भ्रष्टाचारको अन्त्य लगायतका मुद्दाहरुमा अष्ट्रेलियाले स्पष्ट अडान राख्नुपर्ने बताएका थिए ।


अष्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई कुनै मानसिक सहायता आवश्यक परेमा त्यसलाई व्यवस्थित गर्न संघसंस्थाले भूमिका खेल्ने विषयमा पनि चर्चा भएको थियो ।

कार्यक्रमलाई मन्त्रालयकै सहायक प्रथम सचिव सेरा स्टोरीले सहजकर्ताको भूमिका निभाएकी थिइन् । उनी मन्त्रालयमा केन्द्रीय दक्षिण एशिया मामिला हेर्ने गर्दछिन् ।

प्रतिक्रिया