काठमाडौं– अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले जेन–जी प्रदर्शनमा सञ्चारगृह र पत्रकारमाथि भएको हमलाप्रति पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न नेपाली अधिकारीहरूलाई आग्रह गरेको छ । सोमबार र मंगलबार भएको प्रदर्शनका क्रममा दुई सञ्चारगृहमा आगजनी र चार पत्रकार घाइते भएको भन्दै सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको हो ।
सीपीजेका क्षेत्रीय निर्देशक बे ली यीले नेपालमा भइरहेको हिंसात्मक आन्दोलनबाट मिडियामाथि भएको हमलाबाट पत्रकार र सञ्चारगृहलाई सुरक्षाको सुनिश्चित गर्न आग्रह गरेकी हुन् । उनले भनिन्, ‘राष्ट्रिय महŒवका घटनाहरू कभर गर्ने पत्रकारहरूले सामना गर्नु परिरहेको खतराको सम्झना गराउँछ । मिडियामाथि भएका सबै आक्रमणहरूका लागि सुरक्षा बल र प्रदर्शनकारी दुवैलाई जवाफदेही बनाउनुपर्छ र प्रेसले सुरक्षित रूपमा काम गर्न सक्ने सुनिश्चित गर्न‘पर्छ ।’
आन्दोलनका क्रममा कान्तिपुर मिडिया ग्रुपका कान्तिपुर पब्लिकेसन, टीभी, रेडियो र अन्नपूर्ण पोस्टमाथि आगजनी भएको थियो । त्यस्तै एभिन्युज टीभी, एबीसी टेलिभिजन र आईभीटी नेपाललगायतका प्रसारकहरू आन्दोलनका कारण प्रसारण बन्द गर्न बाध्य भएको फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले बताए ।
कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको अंग्रेजी भाषाको पत्रिका द काठमाडौं पोस्टका समाचार सम्पादक थीरलाल भुसालले कर्मचारीहरू घरबाटै काम गरिरहेको र वेबसाइट पनि निष्क्रिय रहेको बताए । अन्नपूर्ण पोस्टकी समाचार संयोजक रामकला खड्काले आफ्नो कार्यालयमा भएको आगजनीका कारण छापा र अनलाइन दुवै सञ्चालनमा बाधा पुगेको र कर्मचारीहरू पनि घरबाटै काम गरिरहेको जानकारी दिइन् ।
आन्दोलनका क्रममा चार जना पत्रकार घाइते भएका छन् । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानालाई प्रहरीले चलाएको रबरको गोली घाँटीमा लागेको थियो । त्यसैगरी, नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्की र कान्तिपुर टीभीका भिडियो पत्रकार श्याम श्रेष्ठलाई पनि रबरको गोली लागेको छ ।
समाचार वेबसाइट देशसञ्चारकी फोटो पत्रकार वर्षा शाह भने ढुंगा लागेर घाइते भएकी थिइन् ।
यस विषयमा टिप्पणीका लागि नेपाल सेनाका सूचना अधिकारी राजाराम बस्नेत र नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले सीपीजेको इमेल र टेक्स्ट सन्देशको जवाफ नदिएको सीपीजेले जनाएको छ ।
प्रतिक्रिया