आज एनआरएन अष्ट्रेलियाको साधारणसभा र पद हस्तान्तरण हुँदै

आज एनआरएन अष्ट्रेलियाको साधारणसभा र पद हस्तान्तरण हुँदै

सभापति र कोषाध्यक्षको प्रतिवेदन साधारणसभामा छलफल हुने


सिड्नी, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको १५ औं साधारणसभा आज सिड्नीको हयात रिजेन्सी होटलमा हुँदैछ । मध्यान्ह १२ बजेदेखि ५ बजेसम्म चल्ने साधारणसभामा अनलाईन माध्यमबाट पनि सहभागी हुन सकिन्छ । साधारणसभामा वार्षिक आयव्यय विवरण र सभापतिको प्रतिवेदन पेश हुँदैछ ।

करिब १६ हजार सदस्य रहेको एनआरएन अष्ट्रेलियाको साधारणसभाहरुमा भने निकै न्यून सहभागिता हुने गरेको छ । आजको अधिवेशनमा अध्यक्ष अनिल पोखरेलले सांगठनिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष अर्जुन गौतमले आर्थिक प्रतिवेदन पेश गर्नुपर्नेछ । यसैबीच, गौतमले आफ्नो नाममा पठाइएको ईमेल र हस्ताक्षर आधिकारिक नभएको, यस विषयमा आफुसँगै कुनै परामर्श समेत नगरिएको भन्दै आपत्ति जनाएका छन् । यसैकारण आज उनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्छन् वा गर्नेछैनन् खुलिसकेको छैन ।

यस्तै साधारणसभामा गत निर्वाचनमा बनाइएका ४ सय करिब नक्कली सदस्यहरुको विषय पनि समेटिने भएको छ । यस विषयमा छलफल गर्नुपर्ने र निष्पक्ष स्वतन्त्र छानविन समिति बनाउनुपर्ने मागसहित संस्थाका आजीवन सदस्य चिरञ्जीवी देवकोटाले गरेको प्रस्तावमा छलफल अघि बढ्न लागेको हो । एनआरएन अष्ट्रेलियाले २६ जुलाईमा सम्पन्न गरेको निर्वाचनमा ४ सय करिब नक्कली सदस्यहरुलाई भोट हाल्नबाट रोकिएको थियो । यी नक्कली सदस्य कसले बनाएको हो रु त्यसको खोजी गरेर कारवाही गर्नुपर्ने, भविष्यमा यस्तो काम हुन नदिन सदस्यता स्वीकृत गर्ने कार्य तेश्रो पक्षलाई दिइनुपर्ने माग छ ।

साधारणसभामा एनआरएन अष्ट्रेलियाको नवनिर्वाचित टिमलाई सपथग्रहण समेत गराउने कार्यक्रम छ । नवनिर्वाचित अध्यक्ष सन्तोष कुँवरसहितका पदाधिकारीलाई प्रमुख निर्वाचन आयुक्तले पद तथा गोपनीयताको सपथग्रहण गराउनेछन् ।