ह्युम फ्रीवे क्रेगीबर्नको सडक दुर्घटनामा दुई नेपाली महिलाको मृत्यु

ह्युम फ्रीवे क्रेगीबर्नको सडक दुर्घटनामा दुई नेपाली महिलाको मृत्यु


मेलबर्न, अष्ट्रेलिया ।

गएराति मेलबर्नको उत्तरी क्षेत्रमा अवस्थित क्रेगीबर्न नजिकै ह्युम फ्रीवेमा भएको दुर्घटनामा दुई नेपाली महिलाको निधन भएको छ । एक कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा उनीहरु चढेको कार दुर्घटनामा परेको हो । बेभरेज बस्ने एक जोडी र थोमसटाउन बस्ने अर्को जोडी बेभरेजबाट फर्किदै थिए । प्रहरीले दिएको जानकारी अनुसार उनीहरु सवार कार कंगारुलाई बचाउन खोज्दा दुर्घटनामा परेको हो । “घटनाको एकिन कारण आइनसके पनि जंगली जनावरलाई बचाउन खोज्दा यस्तो हुन गएको पाइएको छ ।” – भिक्टोरिया पुलिसकी सञ्चार अधिकृत बेलिन्डा बाटीले भनेकी छिन् । नेपाली महिलाहरु चढेको कारलाई ठक्कर दिने कारका चालक घटनास्थलमै रहेको र उद्धार कार्यमा सहयोग गरेको प्रहरीले जनाएको छ । घटना बिहीबार राति ७ः३० बजेको करिब भएको थियो ।

फ्रि वेमा अचानक गाडी रोकिँदा पछाडिबाट आएको अर्को कारले यी दुई महिलाको कारलाई ठक्कर दिएको थियो भने कार अर्को ट्रकसँग ठोक्किन पुगेको थियो । बेभरेज बसोबास गर्ने महिलाको घटनास्थलमा मृत्यु भएको र अर्को एकजनालाई तत्कालै एयर एम्बुलेन्स मार्फत रोयल मेलबर्न हस्पिटल लगिएको थियो । अस्पताल पुगेको केही समयमा चिकित्कहरुले उनलाई पनि मृत घोषित गरेका थिए । दुबै नेपालीमूलका महिलाहरुका श्रीमान भने अर्को गाडीमा थिए । गन्तव्यमा पुगेको केही समयसम्म पनि नआएपछि उनीहरुले खोजी गरेका थिए ।

प्रहरीले शवलाई पोष्टमार्टमको निम्ति राखेको छ । यसको रिपोर्ट आउन केही दिन लाग्नेछ ।

भिक्टोरिया प्रहरीले घटनाका प्रत्यक्षदर्शीहरुलाई क्राईम स्टपर्स १८०० ३३३ ००० मा फोन गरेर आफ्नो जानकारी दिन अनुरोध गरेको छ ।