मेलबर्न, अष्ट्रेलिया ।
अतिवादी नेता थोमस सुवेललाई मेलबर्नको अदालत बाहिर भिक्टोरिया प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि उनले २०२४ मा प्रहरी अधिकारीलाई धम्क्याएको र एक अन्तरिम आदेश उल्लङ्घन गरेको अभियोगमा अदालतमा पेशीमा उपस्थित हुन जाँदै गरेको बेला यो गिरफ्तारी भएको हो । प्रहरीले आजको पक्राउको कारण सार्वजनिक गरेको छैन ।
आज बिहानै, भिक्टोरिया प्रिमियर जसिन्टा एलनको पत्रकार सम्मेलनमा घुसपैठ गरेपछि सुवेललाई पक्राउ गरिएको अनुमान छ । सुवेल र उनको एक सहयोगीले भिक्टोरियाका प्रधानमन्त्री जसिन्ता एलनको पत्रकार सम्मेलन अवरोध गरेका थिए।
सुवेलले एलनलाई अपमानजनक आरोप लगाउँदै गाली गर्दै हकारेका थिए । जसपछि सुरक्षा टोलीले उनीहरूलाई रोकेको थियो । गत आइतबार, करिब ४० जना कालो कपडामा, कोही झण्डाको डण्डा र लठ्ठी बोकेर सुवेलको नेतृत्वमा, मेलबर्नका आदिवासीहरूको विरोध शिविर — माथि हिंसात्मक आक्रमण गरेका थिए। यो आक्रमण ‘मार्च फर अष्ट्रेलिया’ नामक आप्रवासनविरोधी र्यालीपछि भएको थियो।
के छ उनको विचार ?
नियो–नाजी नेता थोमस सुवेलको विचारधारा प्रवासी र बहुसांस्कृतिक समाजका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ। सुवेलले अष्ट्रेलियामा आप्रवासन र बहुसांस्कृतिक मूल्यको विरोध गर्दै आएका छन्।
सुवेलले खुलेआम श्वेत वर्चस्ववादी (White Supremacist) धारणा अगाडि सार्दै गैर–गोरा समुदायलाई अस्वीकार गर्ने विचार राख्ने गरेका छन्। अष्ट्रेलियाको बलियो पक्ष मानिने बहुसांस्कृतिकतामाथि यस्तो धारणा ठाडो चुनौतीका रूपमा देखिएको हो।
उनको समूहले अघिल्ला केही कार्यक्रममा हिंसात्मक आक्रमण गरेको इतिहास छ, जसले प्रवासी र अल्पसंख्यक समुदायलाई असुरक्षित महसुस गराएको छ। यस्तै, उनले गलत सूचना फैलाउँदै सरकार र प्रजातान्त्रिक मूल्यहरूमाथि अविश्वास सिर्जना गर्ने काम गर्दै आएका छन्।
नेपाली समुदायलगायत सबै प्रवासी समुदाय यस विचारधाराबाट प्रत्यक्ष प्रभावित हुने सम्भावना देखिन्छ। विशेषज्ञहरूका अनुसार सुवेलजस्ता चरमपन्थी नेताहरूले प्रवासीहरूको सुरक्षामात्र होइन, सामाजिक सहभागिता र योगदानलाई पनि कमजोर पार्ने खतरा हुन्छ।
प्रतिक्रिया