सिड्नी – अष्ट्रेलियाको सबैभन्दा ठूलो दौड प्रतियोगिता सिड्नी म्याराथन २०२५ मा नेपाली मूलका धावकहरूको सहभागिता ऐतिहासिक रह्यो। करिब ३५ हजार भन्दा बढी धावक सहभागी भएको यो म्याराथनमा नेपाल, अष्ट्रेलिया, वेलायत, अमेरिका, जापानलगायत विभिन्न देशका ५० भन्दा बढी नेपाली धावक सहभागी भए, जुन अन्तर्राष्ट्रिय म्याराथनमा सम्भवत: नेपालीहरूको अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता मानिएको छ। नेपाली मूलका धावक विकास श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ४२.२ किमी दूरी २ घण्टा ५५ मिनेटमा पार गरे।
वेलायतका धावक सन्तोष राईले पनि उल्लेखनीय प्रदर्शन गर्दै सोही दूरी २ घण्टा ५७ मिनेट ५६ सेकेन्डमा पूरा गरे। नेपालबाट आएका रामकृष्ण महर्जनसहित तीन जना धावकहरूको समेत सहभागिता रह्यो। प्रतियोगिता पश्चात सिड्नीवासी नेपीहरुका तर्फवाट नर्थवेष्ट नेपाली कम्युनिटीले विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी सम्पूर्ण धावकलाई नेपाली झण्डा अंकित खादा ओढाएर सम्मान गरियो।
सो अवसरमा अध्यक्ष बिकेन्द्र अधिकारीले धावकहरूको मेहनत र योगदानलाई नेपाली समुदायकै गौरवको रूपमा व्याख्या गर्नुभयो। यस वर्षको म्याराथनमा एथियोपियाका Hailemaryam Kirosले २:०६:०६ समयमा दूरी पूरा गरी पुरुषतर्फ विजेता बने भने, महिलातर्फ डच धाविका Sifan Hassanले २:१८:२२ समयमा दूरी पार गर्दै नयाँ कीर्तिमान कायम गरिन्।
सिड्नी म्याराथन २०२५ पहिलो पटक आधिकारिक रूपमा विश्वकै प्रतिष्ठित World Marathon Majors मध्ये एकमा सूचीकृत भएको छ, जसले सिड्नीलाई अन्तर्राष्ट्रिय खेल मञ्चमा थप उच्च स्थान दिलाएको छ!
प्रतिक्रिया