मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा पहिलो पटक इन्द्र जात्रा विशेष उल्लासका साथ मनाइने भएको छ। आगामी शनिबार ६ सेप्टेम्बर २०२५ मा १०० डंकन्स लेन, डिगर्स रेष्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा आयोजना हुने यस पर्वमा मेलबर्नमै निर्माण गरिएको कुमारी रथ, ६ फिट अग्लो श्वेत भैरवको प्रतिमा, लाखे, पुलु किसि, धिमे बाजागाजा लगायतका सांस्कृतिक आकर्षण प्रस्तुत गरिने छन्। साथै नेवारी परिकारहरू पनि जात्रास्थलमा उपलब्ध हुनेछन्। नेपालको झल्को दिने यस भव्य उत्सवमा हजारौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ।
इन्द्र जात्रा मनाउन सुझाव संकलनका लागि आयोजित “सार्वजनिक भेटघाट” कार्यक्रममा इन्द्र जात्रा उत्सव निर्देशकद्वय रञ्जन वैद्य र राजन मास्केले यो पर्व सम्पूर्ण नेपालीहरूको आफ्नै उत्सव भएको उल्लेख गर्दै जात्रा आयोजना तथा सहभागिताका लागि सम्पूर्ण नेपाली समुदायलाई आव्हान गरे।






यस इन्द्र जात्रा उत्सवलाई नेवा गुठीको अगुवाइमा नेवा पुच, मिषा पुच, एएनएमसी, बाजा खलः, महागुठी, वृष्टि मन्दिर लगायतका संस्थाहरूले साथ दिनेछन्। साथै, नेपाली दूतावास, भिक्टोरियास्थित नेपाली कन्सुलेट, एनआरएनए, एनएभी र दिदीबहिनी समाजले पनि सहयोग गर्ने जानकारी यस पर्वका संयोजक माया सुवालले दिए । त्यस्तै, सांस्कृतिक संयोजक कुमार महर्जनले कार्यक्रममा प्रस्तुत गरिने सांस्कृतिक गतिविधिहरूबारे प्रकाश पारे।
एनआरएनए भिक्टोरियाका राज्य संयोजक महादेव धनुकले सबै नेपालीलाई इन्द्र जात्रामा सहभागी हुन आग्रह गर्दै शुभकामना व्यक्त गरे।
भिक्टोरियाका लागि नेपालका कन्सुल निराजन गौलीले यस कार्यक्रममा बहुसांस्कृतिक मन्त्री, मेयरजस्ता सम्मानित व्यक्तिहरूको उपस्थिति रहने जानकारी दिए।
जात्रा बिहान १० बजेदेखि सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुने आयोजक पक्षका सुसान्त डंगोलले जनाएका छन्।

प्रतिक्रिया