आज बरउड पार्कमा भव्य तीज, साँझ आतिशबाजी पनि गरिने !

आज बरउड पार्कमा भव्य तीज, साँझ आतिशबाजी पनि गरिने !


सिड्नी, अष्ट्रेलिया । नेप्लीज हिन्दू सोसाईटी अफ अष्ट्रेलियाको आयोजनामा बरउड सिटी काउन्सिलसँगको सहकार्यमा सिड्नीको बरउड पार्कमा आज भव्य तीज आयोजना हुँदैछ । बिहान १० बजेदेखि सुरु भई बेलुकी ८ बजेसम्म चल्ने तीज महोत्सव २०२५ मा समुदायका सबै उमेरका मानिसलाई लक्षित विविध कार्यक्रमहरू आयोजना गरिएका छन्।

महोत्सवमा नेपालकी चर्चित कलाकार नीता ढुंगाना तथा सिड्नीमै परिचित गायिका माधबी अर्याल बिष्टले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । दिनभरि नै शिव पूजाको व्यवस्था गरिएको छ भने कालाग्नि रुद्र पीठ, लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्माले पशुपतिनाथ पूजा र गङ्गा श्रृङ्गार आरती गराउने कार्यक्रम रहेको छ। पूजा गर्ने भक्तजनलाई थाली र आवश्यक पूजाका सामग्री आयोजक समितिद्वारा उपलब्ध गराउनेछ ।

संगीतप्रेमीहरूका लागि डीजेको व्यवस्था गरिएको छ भने खानाका स्टल, शुद्ध शाकाहारी भोजन, आइसक्रीम भ्यान र आकर्षक लक्की ड्र’ले पनि उपस्थितिहरूलाई आकर्षित गर्नेछन्। साँझपख कार्यक्रमको मुख्य आकर्षणका रूपमा फायरवर्क्स प्रदर्शन राखिएको छ, जसले सम्पूर्ण वातावरणलाई झन् उत्सवमय बनाउने अपेक्षा छ ।

यस महोत्सवमा विशेष अतिथिका रूपमा न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्स दिउँसो ४:३० बजे उपस्थित हुनेछन् । प्रिमियरकै उपस्थितिमा हुने यस तीज कार्यक्रमले बहुसांस्कृतिक अष्ट्रेलियामा नेपालीहरुको उपस्थितिको गौरवपूर्ण झल्को प्रस्तुत गर्नेछ ।