सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा, पोखरेलले भने, ‘उठ्नुस, जुट्नुस, कोही पनि नछुट्नुस्’ !

सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा, पोखरेलले भने, ‘उठ्नुस, जुट्नुस, कोही पनि नछुट्नुस्’ !



सिड्नी, अष्ट्रेलिया ।

ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरले आगामी २९ अगष्टदेखि तीन दिनसम्म सञ्चालन गर्ने सिड्नी अध्यात्मिक महोत्सवको तयारी पूरा भएको छ । सिड्नीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरुले हालसम्म ११ सय २५ जनाले कलश यात्राका लागि आफ्नो नाम दर्ता गराएको बताएका थिए ।

मार्की होमको मुख्य प्रायोजनमा हुने महोत्सवमा देखिएको उत्साहजनक सहभागिताले सिड्नीवासी नेपाली परियोजनाप्रति दृढ संकल्पित रहेको पुष्टि भएको पनि कार्यक्रममा बताइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमालले सिड्नीको सेरोफेरोमा रहने नेपालीहरुलाई धार्मिक, सामाजिक र सांस्कृतिक एकताको मालामा गाँस्नका लागि यो अभियान अघि बढाइएको बताए ।

अध्यक्ष हमालले सेन्टरलाई मिनी नेपालका रुपमा प्रबद्र्धन गरिएको पनि बताए । हाल जग्गा र प्ररम्भिक पूर्वाधार निर्माणका लागि करिब ५ मिलियन अष्ट्रेलियन डलर आवश्यक भएकोले प्रारम्भिक चरणको अर्थसंकलनमा जुटेको र अहिले ५ सय ७० जना सदस्य भइसकेको जानकारी उनले गराएका थिए । कार्यक्रममा बोल्दै उनले ५ हजार सदस्य बनेपछि जमिन किन्न सकिने र दोश्रो चरणको अभियानका रुपमा सरकारी अनुदानको लागि पहल अघि बढाउने जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा वाचन शिरोमणि दिनबन्धु पोखरेलले अध्यात्मिक महोत्सवमा सबैलाई सहभागी हुन आह्वान गरेका छन् । तीन दिन चल्ने धार्मिक अनुष्ठानको नेतृत्व गर्न सिड्नी आइपुगेका पोखरेलले वैदिक गुरु र बौद्ध गुरुलाई एकै ठाउँमा राखेर हाम्रो एकता, हाम्रो सामाञ्जस्यता, सामाजिक मेलमिलाप र धार्मिक सहिष्णुता पेश गर्न सिड्नी महोत्सव सफल हुने बताए । उनले थपे, “उठ्नुस, जुट्नुस, कोही पनि नछुट्नुस् ।”