भिक्टोरियाको बहुसांस्कृतिक केन्द्रलाई एनआरएन अष्ट्रेलियाको १२ हजार डलर सहयोग हस्तान्तरण

भिक्टोरियाको बहुसांस्कृतिक केन्द्रलाई एनआरएन अष्ट्रेलियाको १२ हजार डलर सहयोग हस्तान्तरण


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरलाई गैरआवासीय नेपाली संघ एनआरएन अष्ट्रेलियाले १२ हजार डलर हस्तान्तरण गरेको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल लगायतका टिमले बहुसांस्कृतिक केन्द्रमा आयोजना गरिएको एक कार्यक्रमकाबीच भिक्टोरियामा रहेका एनआरएन सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो । एनआरएनले प्रतिसदस्य ५ डलर राज्यको मल्टिकल्चरल सेन्टरहरुलाई दिने नीति अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले मेलबर्नमा रहेको बहुसांस्कृतिक केन्द्रबाट नै आफुले २ वर्षअघि चुनावी अभियान सुरु गर्न पाएको र अहिले लगभग कार्यकालको अन्तिममा आउँदा यहीँ कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । उनले भिक्टोरियामा बनेका सदस्यहरुमध्ये आजीवन सदस्यहरुलाई कटाएर बाँकी सदस्यहरुको सदस्यता शुल्कबाट बहुसांस्कृतिक केन्द्रलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नो कार्यकालमा गर्ने प्रतिबद्धता जनाएका विषयले मूर्तरुप पाउँदैगर्दा यी कार्यक्रमको निरन्तरतामा पनि उत्तिकै सजग रहेको बताएका थिए ।

पोखरेलले संस्थाका अध्यक्ष तिलक पोखरेलसहितको टिमलाई १२ हजार डलरको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएन भिक्टोरियाका डेप्युटी कोअर्डिनेटर महादेव धानुकले एनआरएन अष्ट्रेलियाले नीतिगत निर्णय नै गरेर सबै राज्यका सदस्यहरुको सदस्यता शुल्कबाट ५ डलर त्यहीँ राज्यमा भइरहेको नेपाली सांस्कृतिक केन्द्र वा मन्दिरहरु निर्माणमा सहयोग गर्ने भएकोले आगामी दिनमा पनि यो निरन्तर रहने प्रतिबद्धता जनाएका थिए । एनआरएन समूदायसँग हातेमालो गरेर अघि बढ्ने पनि बताए ।

कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले एनआरएन भनेको सहयोग माग्ने संस्था मात्रै हो भन्ने भाष्यलाई विभिन्न कालखण्डमा गलत सावित गर्दै अहिले सामूदायिक केन्द्रलाई गरिएको सहयोग उल्लेखनीय रहेको बताएका थिए ।

कार्यक्रममा अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष तिलक पोखरेलले एनआरएन अष्ट्रेलियाको सहयोगका लागि आभार व्यक्त गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई संस्थाकी सहकोषाध्यक्ष मनिषा उप्रेतिले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष सुधीर शाक्यले गरेका थिए । कार्यक्रममा बहुसांस्कृतिक केन्द्रका पदाधिकारी, सल्लाहकारहरु, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका संरक्षक चिरञ्जीवी देवकोटा, न्याभकी उपाध्यक्ष जेनिसा गौतम लगायतको उपस्थिति रहेको थियो ।