अगष्ट ३१ को मार्चले सद्भाव विगार्ने भन्दै एनआरएन अष्ट्रेलियाको विरोध !

अगष्ट ३१ को मार्चले सद्भाव विगार्ने भन्दै एनआरएन अष्ट्रेलियाको विरोध !



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले आगामी अगष्ट ३१ तारिख आयोजना हुन लागेको मार्च फर अष्ट्रेलिया, अष्ट्रेलिया फस्र्ट नामक प्रदर्शन र र्यालीले आप्रवासीवरोधी भावना बढाउने भन्दै यसको कडा शब्दमा विरोध गरेका छ । अध्यक्ष अनिल पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो प्रदर्शनले अष्ट्रेलियाको बहुसंस्कृतिवाद, समावेशिता र सामाजिक सद्भावका मूल्यमा प्रहार गर्ने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “एनआरएन अष्ट्रेलिया यहाँको समाजमा रहेका विविधताहरुको उत्सव मनाउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछ । आप्रवासी र प्रवासी समूदायले देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सम्बृद्ध बनाउँदै आएका छन् भन्ने कुरालाई स्मरण गराउन चाहन्छौं । सामाजिक चुनौतीहरुको दोष आप्रवासीहरुलाई लगाउने कुनैपनि प्रयासलाई हामी अस्वीकार गर्दछौं र अष्ट्रेलियालीहरुलाई जातीय विभेद, वैमनस्यता र विभाजनका विरद्ध उभिन आह्वान गर्दछौं ।”

साथै एनआरएन अष्ट्रेलियाले यहाँको राजनीतिक वर्ग, समूदायका अगुवाहरुलाई एकता प्रबद्र्धन गर्न र घृणामा आधारित आन्दोलनहरुलाई अस्वीकार गर्न पनि आग्रह गरेको छ ।

के हो अष्ट्रेलिया फस्र्ट अभियान ?

अष्ट्रेलियामा यतिबेला घर खरिद गर्नका लागि यहाँका स्थानीयहरुले कडा संघर्ष गर्नुपरिरहेको बताइन्छ । यही मेसोमा यी सबैको लागि आप्रवासीहरु जिम्मेवार रहेको आरोप एउटा पक्षले लगाउने गर्दछ । साथै, अमेरिकामा हालै आप्रवासीहरुलाई देश निकाला गरेको घटनाले पनि उनीहरुलाई ऊर्जा दिएको मान्न सकिन्छ । यसै सेरोफेरोमा केही व्यक्तिहरुले यो अभियान अघि बढाइरहेका छन् ।

हालसम्म खुले अनुसार ह्युगो लेनन यस अभियानको पछाडी रहेको बताइन्छ । अष्ट्रेलियाका प्रमुख ९ शहरहरुमा र्याली गर्ने योजना रहेको छ ।
आप्रवासीहरुबीच भने यसले भयको वातावरण निर्माण गरिदिएको छ । मुख्यतः अष्ट्रेलिया बहुसांस्कृतिक समाज भएको देश हो । यहाँको लगभग कूल जनसंख्या नै अन्त कतैबाट यहाँ बसाई सरेर आएका हुन् । थोरै संख्यामा रहेका यहाँका आदिवासीहरुमाथि उनीहरुले गरेको अत्याचार र दमनको अहिलेसम्म पनि चर्चा हुने गर्दछ ।

मुख्यत युरोपेली देशहरुबाट बसाई सरेर आएका मानिसहरुको बाहुल्य भएपनि सन् ९० को दशकदेखि आप्रवासन र शिक्षा क्षेत्रको मुख्य गन्तव्यका रुपमा अष्ट्रेलियाले अनुशरण गरेको थियो । यही नीति अन्तर्गत विश्वका १ सय २० भन्दा बढी देशका मानिसहरुले अष्ट्रेलियालाई आफ्नो घर बनाएका छन् भने यहाँको अर्थतन्त्रमा योगदान दिँदै आएका छन् । अमेरिका फस्र्ट अभियान चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पकै पूर्वजहरु ईटालीबाट त्यहाँ पुगेको खुलेपछि मानिसहरु उनले किन यस्तो नीति लिए भनेर आश्चर्य मानिरहेका थिए । अष्ट्रेलियामा पनि कूल जनसंख्याको आधाभन्दा बढी विदेशमा जन्मिएकाहरु छन् ।