फेन्काको अध्यक्षमा मधुसुदन पुडासैनी निर्विरोध, नयाँ कार्यसमितिको सपथ २३ अगष्टमा

फेन्काको अध्यक्षमा मधुसुदन पुडासैनी निर्विरोध, नयाँ कार्यसमितिको सपथ २३ अगष्टमा


मेलबर्न, अष्ट्रेलिया ।

फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएसन अष्ट्रेलिया फेन्काको अध्यक्षमा मधुसुदन पुडासैनी निर्विरोध निर्वाचित भएका छन् । हालै सम्पन्न भएको संस्थाको निर्वाचनबाट उपाध्यक्षमा कपिल पाण्डे, महासचिवमा भोला गिरी, सहमहासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा जीवन राना, सहकोषाध्यक्षमा केदार रिजाल, प्रवक्तामा केशव शर्मा, सहप्रवक्तामा सुरेन रेग्मी निर्वाचित भएका छन् ।

समूदायका अगुवा जोग लिम्बुको नेतृत्वमा बनाइएको निर्वाचन कमिटीले एक विज्ञप्ति जारी गर्दै निर्वाचनबाट सर्वसम्मत नेतृत्व चयन गरिएको जानकारी दिएको हो । निर्वाचनबाट अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजकमा सुरज पौडेल, न्यूसाउथवेल्स संयोजकमा मुक्तिराम पोखरेल, साउथ अष्ट्रेलिया संयोजकमा पुष्कर कोइराला, तास्मानिया संयोजकमा कमल भण्डारी, भिक्टोरिया संयोजकमा कृष्णबहादुर महरा, वेष्टर्न अष्ट्रेलिया संयोजकमा डिल्लीराम पराजुली चयन गरिएको हो । नर्दन टेरेटोरी र क्वीन्सल्याण्डमा भने कुनै उम्मेद्वारी परेन ।

नवनिर्वाचित कार्यसमितिका सबै सदस्यहरुको सपथग्रहण कार्यक्रम आगामी २३ अगष्टमा ब्रिसबेनमा गरिने भएको छ । उक्त कार्यक्रममा वर्तमान अध्यक्ष बम योञ्जनले कार्यभार नयाँ निर्वाचित अध्यक्ष पुडासैनीलाई हस्तान्तरण गर्नेछन् ।

केविसीखबरसँग कुरा गर्दै योञ्जनले १० वर्षको फेन्काको यात्रा पूरा भएको बताएका छन् । सय भन्दा बढी संस्थाहरु यसमा आबद्ध भएका छन् । उनले भने, “नेपालीको बढ्दो जनसंख्यासँगै अष्ट्रेलियामा नेपालीका समस्या पनि बढी देखिएका छन् । संघीय तहमा हामीले निरन्तर नेपालीहरुका समस्या, समूदायको आवश्यकता लगायका विषयमा निरन्तर आवाज उठाइरहेका छौं । राज्य तहमा पनि हामीले यी विषयलाई निरन्तर उठाएका कारण अहिले हाम्रो समूदाय स्थापित भइसकेको छ भन्ने लाग्छ । अब संघीय तहमा अली बढी जोड गर्नुपर्छ ।”