काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने अडान दोहोराएको छ । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले कुलिङ पिरियडमा हेरफेर काण्डमा सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
छानबिन प्रतिवेदनले व्यक्तिको नाम नलेखेको भनेर उन्मुक्ति नपाइने उनले बताए। “पदको नाम लेखिएको छ। जिम्मवारीको नाम लेखिएको छ। नालायकीपनको नाम लेखिएको छ। कुनैपनि हालतमा राजीनामा आउनपुपर्छ ।” झाले भने ।
नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको गडबडीलाई गम्भीर त्रुटिका रूपमा उल्लेख गरे पनि ‘नियतवश भएको स्पष्ट प्रमाण प्राप्त नभएको’ भनेको छ।
समितिले विधेयकमा कुलिङ पिरियड सम्बन्धमा विधेयकको दफा ८२ को उपदफा (४) र (५) बीच तादात्म्य नहुनुलाई गम्भीर त्रुटि भनेको छ। साथै यस्तो त्रुटिमा ‘परिभाषित जिम्मेवारीमा रहेकाहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको नदेखिएको’ निष्कर्ष निकालेको छ।
प्रतिक्रिया