काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्रको गहिरो गुटबन्दी र प्रतिशोधको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा देशको अभिभावक बन्नुको सट्टा केवल सत्ता गठबन्धनको साँघुरो घेरामा सीमित भएको भन्दै कडा आलोचना समेत गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै डा। कोइरालाले कांग्रेसको पराजयको मुख्य कारण अन्य पार्टी नभई स्वयं कांग्रेसकै नेता-कार्यकर्ता भएको दाबी गरे।
‘पार्टीको आन्तरिक चुनावमा त्यसले मलाई हराएको थियो, त्यसलाई यही बेला हो हराउने भनेर स्थानीय, प्रदेश र संघको निर्वाचनमा रिस फेर्ने प्रवृत्ति कांग्रेसभित्र घातक क्यान्सर जसरी बढेको छ,’ उनले भने, ‘कांग्रेसले कांग्रेसलाई भोट दिने हो भने कुनै पनि निर्वाचनमा कांग्रेसले हार्दैन।’
आफू देश दौडाहामा जाँदा जताततै कांग्रेस नै देखे पनि चुनावी नतिजा ठीक उल्टो आउने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘मलाई अचम्म लाग्छ, संगठन र क्रियाशील सदस्यका हिसाबले सबैभन्दा बलियो भएको वडादेखि संसदीय क्षेत्रसम्म कांग्रेस हारिरहेको हुन्छ । यो सबै कांग्रेसले कांग्रेसलाई भोट नदिएकै कारणले हो।’
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि पोख्दै गठबन्धनको नेता नबन्नु सुझाव दिए । देशमा रहेका सबै दलका नेतालाई बोलाएर राष्ट्रिय मुद्दामा छलफल गर्ने अभिभावकीय भूमिका निर्वाह गर्न पटक-पटक सुझाएको बताए।
‘मैले सभापतिलाई पटक-पटक भनेँ, तपाईं कांग्रेसको मात्रै होइन, देशैको नेता हो। तपाईंजतिको सिनियर नेता अहिले राजनीतिमा कोही छैन,’ कोइरालाले भने, ‘तपाईंले सबै दलका नेतालाई घरमै चियामा बोलाएर देश विकासबारे छलफल गर्नुहोस्। तर उहाँ गठबन्धनबाहेक अरूसँग भेट्नै नहुनेजस्तो गर्नुहुन्छ।
प्रतिक्रिया