एनआरएन अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी, उपाध्यक्षमा बबिन मिश्र

एनआरएन अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी, उपाध्यक्षमा बबिन मिश्र

महासचिवमा चुडामणि सापकोटा, कोषाध्यक्षमा निजन चौलागाईं विजयी



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा उनले आफ्ना दुई प्रतिस्पर्धीलाई पछि पार्दै २०२५/२७ कार्यकालका निर्वाचित भएका हुन् । कुँवरले ६ हजार ८३९ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी भैरव ढकालले ३ हजार ७ सय २७ र सञ्जीव गोर्खाली ढकाल २ हजार १ सय २६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्ष पदमा बबिन मिश्रले ७ हजार २ सय ६१ मत प्राप्त गरी विजय हासिल गरे भने प्रतिस्पर्धी रमेश पौडेलले ४ हजार ६ सय १९ मत ल्याए ।
यस्तै महासचिव पदमा चुडामणि सापकोटाले ७ हजार ३० मत ल्याए भने उनका प्रतिस्पर्धी भरतमणि देवकोटाले ३ हजार २ सय ५६ मत ल्याए, त्यस्तै अर्का प्रतिस्पर्धी अर्जुन गौतमले १ हजार ८ सय १४ मत ल्याएका छन् ।
सचिव पदमा कल्याण खड्का विजयी भए । उनले ७ हजार १ सय ८० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत प्राप्त गरे । कोषाध्यषमा निजन चौलागाईंले ७ हजार ८७ मत ल्याए भने प्रतिस्पर्धी लुना सिवाकोटीले ४ हजार ४ सय ५६ मत ल्याएकी थिइन् ।

निर्वाचन आयोग अनुसार क्वीन्सल्यान्ड संयोजक पदमा अतुल खड्कासहित टिम निर्विरोध निर्वाचित भएको छ भने तास्मानियामा पनि संयोजक सुजन वाग्लेसहितको टिम नै निर्विरोध भएको छ । यस्तै एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी विजयी भएकी छिन् भने एनआरएन अष्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भएका थिए । नारी निकुञ्ज अष्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाह निर्विरोध भएकी छिन् ।

यस्तै न्यूसाउथवेल्समा उषा किरण बारिया पोखरेल राज्य संयोजक पदमा विजयी भइन् भने साउथ अष्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुंग विजयी भए । यस्तै वेष्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल सुमन विजयी भए । उता अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल संयोजक पदमा चुनिएका छन् भने भिक्टोरियामा महादेव धानुक संयोजक पदमा विजयी भएका छन् । नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा विजयी भए ।

एनआरएन अष्ट्रेलियाको यस पटकको निर्वाचनमा १६ हजारभन्दा बढी मतदाता भएपनि १३ हजार ७ सय १ भोट मात्रै खसेको थियो । कूल मतदाताको ८५ प्रतिशत भोट खसेको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले जानकारी दिए । दिनभरी अनलाईन मार्फत भएको चुनावी नतिजा साँझ अनलाईन मार्फत नै जानकारी गराइएको थियो ।