एनआरएन अष्ट्रेलिया चुनाव, विहान १० बजेसम्म २ हजारले गरे मतदान

एनआरएन अष्ट्रेलिया चुनाव, विहान १० बजेसम्म २ हजारले गरे मतदान

आयोगमा केही मतदाताले गरे डाटा सेक्युरिटीको गुनासो


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचनमा विहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । विहान ९ बजे ३० मिनेट जाँदा निर्वाचन आयोगले उपलब्ध गराएको विवरण अनुसार करिब २ हजारले मतदान गरिसकेका छन् । वेष्टर्न अष्ट्रेलियामा भर्खरै मतदान सुरु भएका कारण १० जनाले मात्रै मत हालेको देखिएको छ भने सबैभन्दा बढी न्यूसाउथवेल्समा मतदान भएको छ । न्यूसाउथवेल्समा ५ सय ३० भन्दा बढीले भोट हालिसकेका छन् ।

यस्तो छ मतको स्थिति

यसैबीच, केही समूदायका सदस्यहरुले आफुलाई नचिनेको नम्बरबाट एसएमएस मार्फत भोट हाल्न आग्रह आएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । आफ्नो व्यक्तिगत विवरणको सुरक्षाका विषयमा चिन्ता व्यक्त गर्दै उनीरुले निर्वाचन आयोगमा उजुरी दिएको प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले पुष्टि गरे । ढकालका अनुसार यस विषयमा आयोगमा छलफल भएको छ । यसमा के भएको हो भन्ने विषयमा अनुसन्धान गर्नेगरी मतदानलाई जारी राख्ने निर्णय भएको ढकालले जानकारी दिए । उनले भने, “उम्मेद्वार आफैंले गरेको पनि हुनसक्छ या अरु कसैले विवाद बनाउनकै लागि पनि भएको हुनसक्छ । त्यसैले यतिबेला म कसका विरुद्ध, कस्ले उजुरी दिएको भन्ने केही भन्न सक्दिन । तर, गम्भीर विषय उजुरीमा छ ।”

के हो घटनाक्रम ?

एनआरएन अष्ट्रेलियाको अध्यक्षका तीन प्रत्यासीमध्ये भैरव ढकालको तर्फबाट टीम एकतालाई सहयोग गर्नभन्दै एसएमएस आएको र ढकाललाई मत दिन अनुरोध गरिएको पाइएको छ । उजुरीकर्ताले आफुले नचिनेको, आफ्नो फोन नम्बर प्रयोग कसरी भयो ? भन्दै आयोगलाई पठाइएको उजुरीमा प्रश्न गरिएको बुझिएको छ । केविसीखबरलाई प्राप्त स्क्रिनसटहरुमा एउटै खालको मेसेज सम्प्रेषण भएको पाइएको छ । तर, केविसीखबरले सम्पर्क गरेका केही मतदाताले भने आफुहरुले त्यस्तो खालको कुनै एसएमएस नपाएको पुष्टि गरे । एनआरएन अष्ट्रेलियाको निर्वाचनमा यसअघि पनि मास मेसेजको घटना भएको थियो ।
अध्यक्षका प्रत्यासी भैरव ढकालले आफुलाई यस विषयमा कुनै जानकारी नभएको भन्दै, विना प्रभाव, डर त्रास नमानी निर्वाचन प्रक्रियामा सहभागी हुन र लोेकतान्त्रिक अधिकारको उपयोग गर्न अनुरोध गरेका छन् । उनले केविसीखबरसँग भने, – “मलाई पनि आयोगबाट यस्तो जानकारी आयो । मैले जे सत्य हो त्यही भनेको छु । सार्वजनिक रुपमा पनि सामाजिक सञ्जाल मार्फत यो विषय स्पष्ट पारिसकेको छु ।”