मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन शनिबार २६ जुलाई विहानबाट सुरु हुँदैछ । यस पटकको निर्वाचन पूर्णत अनलाईनमा हुनेछ । मतदाताहरुले आफ्नो मतदान मोबाइलबाट नै आफ्नै घरमा बसेर गर्न सक्नेछन् । यतिबेला सामाजिक सञ्जालमा भिडियो, फोटो र पोष्टरहरु बग्रेल्ती देख्न सकिन्छ । अष्ट्रेलियाका मिडियाहरुले आफ्नो बुताले भ्याएसम्म कभरेज गरिरहेकै छन् ।
हरेक निर्वाचनमा मतदाताहरुलाई चुनावको कम्तिमा एक दिन पहिले मौन अवधि दिने गरिन्छ । जुन समयमा उनीहरुले हालसम्म भएका प्रचार, ल्याएका एजेन्डा र योजनाहरुका आधारमा कसरी, कसलाई मतदान गर्ने भन्ने निर्णय गर्दछन् । सर्वव्यापी सिद्धान्त नै यस्तो समय मतदातालाई उपलब्ध गराउनुपर्छ भन्ने हो ।
अहिलेको निर्वाचनलाई कसैले जीत हारको रुपमा लिनुभन्दा पनि समाजसेवा गर्ने क्रममा कोही पहिलो कोही सहयोगी भूमिकामा आउने कुरालाई सामान्य रुपमा लिएर अघि बढ्नुपर्छ
यस्तो समयलाई मौन अवधि नामाकरण गरिन्छ र त्यस अवधिमा उम्मेद्वारहरुले आफ्ना प्रचारात्मक गतिविधिमा रोक लगाउने चलन छ । सामाजिक संस्थाको चुनाव भएका कारण यस विषयमा कुनै निर्देशनात्मक आचारसंहिता नभएपनि नैतिक रुपमा मौन अवधिको पालनाले पक्कै पनि संस्थाको शाख नै बृद्धि गर्नेछ । हामी आशा गरौं कि यो सर्वमान्य र सामान्य सिद्धान्तलाई यस पटक उम्मेद्वारहरुले पालना गर्नेछन् र मतदातालाई चुनावको निम्ति तयार हुन समय दिनेछन् ।
चुनावको तयारीका सम्बन्धमा हामीले निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालसँग कुराकानी गरेका थियौं । ढकालले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले ढुक्कसँग निर्वाचनमा सहभागी हुन र आफ्नो मत दिन आग्रह गरेका छन् । चुनावका दिन सबै राज्यमा रहेका निर्वाचन आयुक्तहरु, आईटी विज्ञहरु तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ । निर्वाचनको लागि ‘अपरेशन सेन्टर’ निर्माण गरिएको भएपनि यसको थप विवरण भने दिइएको छैन । अवाञ्छित गतिविधि हुन नपाओस् भन्ने कारणबाट विवरण नदिइएको हो ।
एनआरएन अष्ट्रेलियाका प्रमुख निर्वाचन आयुक्त डिल्ली ढकालले निर्वाचनमा उम्मेद्वारको आचारसंहिता सबैलाई पठाइएको जानकारी दिएका छन् । उनले अहिलेको निर्वाचनलाई कसैले जीत हारको रुपमा लिनुभन्दा पनि समाजसेवा गर्ने क्रममा कोही पहिलो कोही सहयोगी भूमिकामा आउने कुरालाई सामान्य रुपमा लिएर अघि बढ्नुपर्ने बताउँछन् । उनका अनुसार निर्वाचनलाई शनिबार अष्ट्रेलियामा नेपालीको उत्सवकै रुपमा लिनुपर्ने बताएका छन् । उनले निर्वाचनका दिन कुनै अप्ठेरो आइपरे समस्या समाधानका लागि चुस्त व्यवस्थापन गर्नेतर्फ आफुहरुको ध्यान केन्द्रित रहेको जानकारी पनि दिए ।
प्रतिक्रिया